उदयपुर: महिला उद्यमीहरुको व्यवसाय बिस्तार गर्न तथा नेपाल सरकारबाट अनुदान प्राप्त बैंकिङ कर्जा बारे सचेतना गराउन उदयपुरमा सचेतनामुलक कार्यक्रम आयोजना भएको छ ।
उदयपुर जेसीजको आयोजनामा आज शनिबार गाइघाटमा महिला उद्यमी कर्जाबारे कार्यक्रम सम्पन्न भएको हो । उदयपुर जेसीजकी अध्यक्ष जेसी शर्मिला थापाको अध्यक्षतामा आयोजित कार्यक्रमको सहजीकरण सानिमा बैकका ऋण विभागका प्रमुख विष्णु कार्कीले गरेका थिए । त्रियुगा नगरपालिका वडा नं. १२ का मुस्लिम र मधेशी समुदायका करीब ३५ जना महिलाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
सो कार्यक्रममा महिला उद्यमीहरुले सहुलियतपूर्ण कर्जा कसरी लिने ? कर्जाको ब्याजमा कसरी अनुदान प्राप्त गर्ने ? तथा धितो बिना कति रकम सम्म कर्जा लिन सकिन्छ ? भन्ने बारेमा जानकारीहरु प्रदान गरिएको अध्यक्ष थापाले बताईन् ।
करिब १५ वर्षदेखि एकल नेतृत्वमा काष्ठ उद्योग (काठ मिल) सञ्चालन गरिरहेकी महिला उद्यमी हीरावती ठाकुरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको संयोजन उदयपुर जेसीजकी सदस्य सोनिका राईले गरेकी थिईन । उदयपुर जेसीजले विगत ५ दिनदेखि महिला, बालबालिका तथा समुदायमा समर्पित रही कार्यक्रमहरु आयोजना गरिरहेको छ ।