धरान: धरानबाट धनकुटाको कन्यापोखरी हुदै मोरङको केराबारीसम्म पुग्ने निर्माणाधिन सडकको मेयर–उपमेयरले साउनेटार पुगेर आज आइतबार निरीक्षण गरेको छ ।
छुट्टा छुट्टै समयमा निरीक्षणको क्रममा पुगेका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले श्रमदान गरिरहेका स्थानीयको खुलेर प्रशंसा गरेका छन् । धरान ५ पानवारीको साउनेटार, धरान ४ को मङ्गलटार, सुमनटार, हर्दिया हुदै यो सडक धनकुटाको कन्यापोखरी जोडिन्छ । साथै, त्यहाँबाट मोरङको केराबारी गाउँपालिकाको मितेरी गाउँसम्म यो सडकले जोडिनेछ । यो सडक करिब १ सय ८ मिटर रहेको छ । सडकको चौडाई २० फिट छ भने टर्निङ ३० फिटको बन्दैछ ।
यो सडक निर्माण सम्पन्न भएपछि दैनिक रुपमा सवारी दुर्घटना भइरहने तथा वर्षातको समयमा आवतजावतमा हुने समस्याबाट मुक्ति मिल्ने स्थानीयको आशा छ । स्थानीयहरु आफ्नो गाउँ आफै बनाउनुपर्छ भन्ने भावनाले सडकको ग्राबेल तथा ढलाई गर्न साउनेका स्थानीय जुटेका छन् । उक्त एक खण्ड सडक निर्माण सम्पन्न गर्नका लागि १७ लाख रुपैयाँ बजेट छुट्याइएको छ । धरान उपमहानगरपालिकाले ५० प्रतिशत सहयोग गरेको छ भने उपभोक्ता समिति तथा स्थानीयको जनसभागिता र श्रमदानबाट ५० प्रतिशत बजेट छुट्याइएको छ ।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोज महरका अनुसार साउनेटारको एक खण्ड सडक निर्माणको काम अब ३, ४ दिन भित्रमा सम्पन्न हुनेछ । सडक निर्माणका लागि धरान उपमहानगरपालिकाले विपद कोषबाट ८ लाख ५० हजार रुपैयाँ अर्थात ५० प्रतिशत सहयोग गरेको उनले जानकारी दिए । अहिले स्थानीयको सहभागिता र श्रमदानबाट समेत निर्माणको काम भइरहेको उनले बताए ।
वडा नं. ५ का अध्यक्ष सन्तोष लिम्बुले बर्खायाममा यो बाटोमा हिड्न अत्यन्तै समस्या भएको बताए । उकालोमा गाडी चिप्लने र दैनिकरुपमा दुर्घटना भइरहने गरेको उनको भनाई छ । ‘अबको ३,४ दिन भित्रमा निर्माण सम्पन्न हुन्छ, र विगतको समस्याबाट मुक्ति मिल्छ,’उनले भने । विगत ११ दिनदेखि सडकको ग्राबेल र ढलाई गर्ने काम भइरहेको उनले बताए ।
सडक अनुगमनमा पुगेका धरान उपमहानगरका प्रमुख तिलक राईले उपभोक्ता समितिलाई सक्रियतापूर्वक काम गरेको भन्दै धन्यवाद दिए । ‘वडा नं. ५ को साविक पाँचकन्याको पहाडी भूगोल र मोरङ समेत जोड्ने भएको हुनाले यो महत्वपूर्ण बाटो हो,’उनले भने,‘ग्राबेल र ढलाईको काम सकिएपछि आवतजावत गर्न सजिलो हुन्छ, सवारी दुर्घटना जस्तो जोखिम समेत टरेर जान्छ ।’ उपमेयर मञ्जु भण्डारी सुवेदीले पनि सडक निर्माणमा स्थानीयबासी एकजुट भएर लागेको भन्दै प्रसंशा गरिन् । सडक निर्माणमा स्थानीय एकजुट भएर लागेका छन्, यो प्रसंशायोग्य छ, उनले भनिन् ।