धरान: सुपर खोटाङ भोजपुर यातायात प्रालिको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।
प्रालिको आईतबार धरानमा आयोजित साधारणसभामा फुटल सेवाको पनि औपचारिकरुपमा उद्घाटन गरेको छ । अत्याधुनिक सेवा सुविधा भएको १९ सिटे हायस अहिले खोटाङदेखि काठमाडौंसम्म सञ्चालन भइरहेको संस्थाका अध्यक्ष दिवासन राईले बताए । यात्रुको मागअनुसार धरानदेखि खोटाङसम्म फुटल सेवा सञ्चालन गरिने पनि राईले जानकारी दिए । उनका अनुसार सुपर खोटाङ भोजपुर यातायात प्रालिमा अहिले ४५ वटा सुमो गाडीले सेवा दिइरहेको छ ।
प्रालिले धरानदेखि भोजपुरसम्म, धरानदेखि खोटाङ, बाक्सिला, अैसेलुखर्क, पाथेका, खार्मी, निर्मलीडाँडासम्म सेवा दिइरहेको छ । आगामी दिनमा यात्रुको माग अनुसार धरानदेखि खोटाङसम्म हायस गाडी सञ्चालन गर्ने योजना रहेको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि एवं धरानका मेयर तिलक राईले युवाहरु व्यापार व्यवसायतर्फ उन्मुख भएको भन्दै प्रसंशा गरे । बाटो विस्तारसँगै सबैतिर विकासको सम्भावना पनि बढेर गएको उनले बताए । राज्यको अव्यवस्थित कारणले यातायात व्यवसाय धरासयी बन्दै गएको मेयर राईको भनाई छ । साथै उनले युवा व्यवसायीहरुलाई अध्ययन गरेर मात्र यस पेशामा लाग्न आग्रह गरे ।
साधारणसभाले समितिको उपाध्यक्षमा कोपिला तामाङ, महासचिव चक्र बहादुर थापा, सचिव रेषजोन राई र कोषाध्यक्षमा ईन्द्र बहादुर खडका मनोनित गरेको प्रालिले जनाएको छ । सदस्यहरुमा राजु राई, शिव हिङ्माङ, योगेश राई र सुवास खड्का सर्वसम्मत रुपमा चयन भएका छन् ।