धरान: भारतबाट भन्सार छलेर नेपाल ल्याउदै गरेको ५२ लाख भन्दा बढीको समानहरुसहित ट्रक र बस प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबारदेखि आजसम्म चेकिङको क्रममा भन्सार छलेर ल्याउदै गरेको खाद्यान्न, लत्ता कपडा, स्टिलका भाडा वर्तन, सुर्तिजन्य पदार्थ, भैसीको पाडा नियन्त्रणमा लिइएको हो । ती सबैको मुल्य ५२ लाख ८५ हजार ३ सय ३५ रुपैया रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अवैध सामान ढुवानीमा प्रयोग भएको को १ ख ७१५३ नम्बरको ट्रक र बा ४ ख ८०६१ नम्बरको बसको चालक पनि पक्राउ परेका छन् । वरामद भएको सामानहरुलाई आवश्यक कारबाहीको लागि सेतुबन्धु भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको प्रहरीले जनाएको छ ।
बोइलर कुखुरा पुरेर नष्ट
सुनसरी प्रहरीले आज बिहान कोशी गाउँपालिकाबाट भन्सार तथा क्वारेन्टाइन् छलेर ल्याएको बोइलर कुखुरा नियन्त्रणमा लिएको छ । भन्सार तथा क्वारेन्टाइन छलेर मापदण्ड विपरीत भारतमा उत्पादन भएको ८० थान बोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। उक्त कुखुराको मुल्य ३५ हजार पर्ने अनुमान छ। वरामद भएको कुखुरा जिल्ला पशु कार्यालयका अधिकृतलगायतको उपस्थितिमा पुरेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।