धरान: धरानको पानवारीमा निर्माणाधिन फोहोर प्रशोधन केन्द्रमा फागुन दोस्रो सातादेखि सहरको फोहोरलाई परीक्षण प्रशोधन गर्न शुरुवात गरिने भएको छ ।

आज मंगलबार धरान उपमहानगरपालिकामा बसेको सरोकारवाला त्रिवपक्षीय छलफलले फागुन १५ गतेदेखि फोहोरको परीक्षण प्रशोधन शुरुवात गर्ने निर्णय गरेको हो । वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र, भेञ्चर वेष्ट टु इनर्जी र उपमहानगरबीच छलफल भएको थियडो । उक्त छलफलमा धरानका मेयर तिलक राई, प्रमुख प्रशासकीय अधिकृत विदुर खनाल, विपत तथा वातावरण महाशाखा प्रमुख भेषराज घिमिरे र वातावरण निरीक्षक राजु चौहान, भेन्चर वेस्टु इनर्जी प्रा.लि.का निर्देशक विपुल राज पाण्डे र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र प्रदेश एकका ईञ्जिनियर सुजन पौडेल सहभागी थिए ।

हाल प्रशोधन केन्द्रमा फिडिंगको काम भइरहेको छ भने कुहिने फोहोर र नकुहिने फोहोर छुट्याउने मेशिन (सेक्रिगेटर) जडान हुन बाँकी छ । उक्त मेशिन भारतबाट एक साताभित्र आइपुग्नेछ । यसअघि नै मेशिन जडान गरिए पनि भारतबाट ल्याउने क्रममा समस्या आएकोले पुनः अर्को मेशिन ल्याउनुपर्दा ढिलाई भएको महाशाखा प्रमुख घिमिरेले जानकारी दिए । ‘आज त्रिवपक्षीय छलफलले फागुन १५ गतेदेखि परीक्षणकोरुपमा फोहोर प्रशोधन शुरुवात गर्ने निर्णय भएको छ,’उनले भने ।

Sekrigeter

धरानको फोहोरलाई प्रशोधन गरेर उर्जा उत्पादन गर्ने उद्देश्यले २०७४ जेठ २५ गते धरान उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र भेन्चर वेष्ट टु ईनर्जी प्रा.लि.बिच त्रिपक्षिय सम्झौता भएको थियो । उक्त सम्झौता वमोजिम धरान ६ स्थित पानवारीमा प्रशोधन केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ । केन्द्रको भौतिक संरचना निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भएको छ ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र भेन्चर वेष्ट टु प्रईनर्जि कम्पनीका अनुसार प्रशोधन केन्द्रमा शहरी फोहोरलाई प्रशोधन गरेर ग्याँस उत्पादन गर्ने र अर्गानिक मल उत्पादन गरिनेछ । नेपाल सरकार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २० प्रतिशत र विश्व बैंकको २० प्रतिशत अनुदान रहेको छ भने भेन्चर वेस्टु इनर्जी प्रा.लि.को ६० प्रतिशत लगानी रहेकोछ ।