धरान: कोरोनाको उपचारमा अग्रपंक्तिमा खटिएकाहरुमध्ये हालसम्म धरानमा करिब २३ सय जनाले कोरोना विरुद्धको खोप कोभिसिल्ड लगाएका छन् ।

खोप केन्द्रकोरुपमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटलमा गरि २२ सय ९९ जनाले खोप लगाएका हुन् । ती मध्ये बुधबारसम्म प्रतिष्ठानमा १७ सय ३३ जनाले खोप लगाएका हुन् । विजयपुर हस्पिटलमा खोप लगाउनेको संख्या ५ सय ६६ जना रहेको छ । भारत सरकारले अनुदानकोरुपमा दिएको कोभिसिल्ड माघ १४ गतेदेखि देशव्यापी अभियानकोरुपमा लगाउन शुरु गरिएको थियो । पहिलो चरणमा कोरोनाविरुद्ध खटिएका फ्रन्टलाइनहरुलाई प्राथमिकता दिएका लगाइएको हो ।

प्रतिष्ठानमा १ हजार ३ जना महिला र ७ सय ३० जना पुरूषले खोप लगाएको सहायक अस्पताल निर्देशक डा. प्रमोद बरालले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा २ सय ५० भाइल खोप आएको थियो । त्यसमध्ये १ सय ७४ भाइल प्रतिष्ठानकै स्वास्थकर्मीहरूको लागि प्रयोग भएको छ भने १० भाइल धरान उपमहानगरपालिकालाई दिइएको छ । अब प्रतिष्ठानमा ६६ भाइल बाँकी रहेको पनि डा.वरालले दिए ।

विजयपुर हस्पिटलमा रहेको खोप केन्द्रमा अहिलेसम्म ५ सय ६६ जनाले लगाएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार अब विजयपुर हस्पिटलको खोप केन्द्रमा २२ भाइल मात्र खोप बाँकी छ । यो खोपले २२० जनालाई पुग्छ । 'एक भाइलमा १० डोज हुन्छ, यो हिसाबले २२० जनालाई पुग्छ,' मेहताले भने,'भोली शुक्रबार अभियानको अन्तिम दिन हो । हेरौ कति जना आउनुहुन्छ । सबैलाई जानकारी गराएका छौं ।'

विजयपुर हस्पिटलको खोप केन्द्रमा सोही हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मीहरु, धरान उपमहानगरका स्वास्थ्यकर्मीहरु, सरसफाईकर्मीहरुसँगै बराहक्षेत्र नगरपालिकाका स्वास्थ्यकर्मीहरु पनि खोप लगाउन आएका थिए । माघ १४ गतेदेखि देशव्यापीरुपमा शुरुवात भएको पहिलो चरणको खोप अभियानको भोली शुक्रबार अन्तिम दिन हो ।