धरान:  धरानको वडा नं. १६ मा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ ।

निर्माणाधिन स्वर्गीय तारा सुब्बा स्मृति पार्कको लागि छनौट भएका कामदारहरुलाई आवश्यक पर्ने औजार सामग्रीहरु हस्तान्तरण गर्दै आइतबारदेखि धरान १६ मा पनि कार्यक्रम शुरुवात गरिएको हो । धरानका प्रमुख तिलक राई, वडाध्यक्ष दिल कुमार गिरी र वरिष्ठ प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडाको टोलीले कार्यक्रमको शुरुवात गरेका थिए । उनीहरुले स्मृति पार्कमा खटिएका ६ जना मजदुरहरुलाई परिचय पत्र, सुरक्षात्मक टोपी, एप्रोन, बेल्चा, गैति नगरपालिका र वडा कार्यालयले सहकार्य गरेर औजार सामाग्री प्रदान गरेका छन् । आवश्यक पर्ने थप सामाग्रीहरु उपमहानगरपालिकाले आज सोमबार उपलब्ध गराउने बताएको छ ।

नगर प्रमुख राईले स्मृति पार्कमा खाल्डाहरु खन्ने, वृक्षारोपण गर्ने र सरसफाई गर्न उपमहानगरपालिकाबाट योजना स्वीकृत भएको थियो । काम नपाएर बेरोजगार भएर बसेकाको लागि प्रधानमन्त्री रोजगार कार्यक्रमले ठूलो सहयोग पुर्याएको नगर प्रमुख राईले बताए । धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत यस वर्ष १ सय ५७ जनाले रोजगारी पाउनेछन् । उनीहरुले एक सय दिनको दैनिक ५ सय १७ रुपैयाको दरले पारिश्रमिक पनि पाउने अधिकृत खतिवडाले जानकारी दिए ।