धरान: लामो समयदेखि रोकिएको बढुवा तत्काल गर्नुपर्ने, सरकारले उपलब्ध गराइसकेको जोखिम भत्ता वितरण गर्नुपर्नेलगायत मागहरु राखेर आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याकल्टी र पदाधिकारीहरुबीच आज बिहानदेखि वार्ता भइरहेको छ ।

चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजले आज उपकुलपति कार्यालयमा ताला लगाउने घोषणा गरेपछि पदाधिकारीहरुले वार्तामा बोलाएको थियो । करिब ३ घण्टा चलेको वार्ता सकरात्मक भए पनि सहमति भने भइनसकेको समाजका अध्यक्ष डा.विष्णु पोखरेलले जानकारी दिए । उनले भने,‘हामी ३ घण्टा वार्तामा बस्यौं । छलफल सकरात्मक नै भइरहेको छ, तर सहमति भइसकेको छैन ।’

वार्तामा प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक डा.गौरीशंकर साह सहभागी थिए । वार्ता अहिले केही समयको लागि स्थगित भएको छ । समाजका अध्यक्ष डा.पोखरेलका अनुसार पदाधिकारीहरुको तर्फबाट आएको प्रस्तावबारे छलफल गर्न दिउँसो ३ बजे समाजको आकस्मिक साधारणसभा बोलाइएको छ । उक्त सभाबाट नै पदाधिकारीहरुको प्रस्तावबारे ठोस निर्णय वा धारण तय हुनेछ ।

‘बिशेष प्रस्ताव आएको छ । त्यसबारे निर्णय लिनको लागि ३ बजे आकस्मिक साधारणसभा बस्छ,’अध्यक्ष पोखरेलले भने,‘हामीले त्यस प्रस्तावबारे निर्णय लिदा दीर्घकालिन के प्रभाव पर्छ ? यसबारे छलफल हुन्छ ।’ पदाधिकारीहरुले गरेको प्रस्तावबारे पनि उनले खुलाउन चाहेनन् । यद्यपी, प्रस्ताव सकरात्मक रहेको बताए । गएको शुक्रबारदेखि फ्याकल्टीहरु बिहान ८ बजेदेखि ९ बजेसम्म उपकुलपति कार्यालयअघि धर्ना बस्ने गरेका छन् । साथै, उनीहरुले शुक्रबार नै रेक्टरको कार्यकक्षमा तालाबन्दी पनि गरिसकेका छन् ।faculty