झापा: अनलाइनबाट चिठ्ठा परेको प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्दै हिड्ने एक व्यक्तिा झापाबाट नगदसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले अर्जुनधारा ९ का २९ बर्षीय पंकज पौडेली बिकलाई पक्राउ गरेको हो । उनले अनलाईनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर ठगी गरेको झापा प्रहरीको भनाई छ । पौडेलीले अनलाईनको माध्यमबाट ठगी गरेकोबारे महानगरीय अपराध महाशाखा काठमाण्डौमा ठगी मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि प्रहरी पौडेलीको खोजीमा जुटेको थियो ।
उनलाई ईलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले बिर्तामोड नगरपालिका २ बाट उनलाई पक्राउ गरेको झापा प्रहरीले जानकारी दिएको छ । उनको साथबाट नगद ३ लाख ५६ हजार ७१० रुपैया वरामद भएको छ । यस्तै, कोठामा रहेको दराज भित्रबाट थप २ लाख १८ हजार २ सय भेटिएको थियो । साथै, घर पछाडिको गाई ग्वाली छेउमा रहेको गोवरको थुप्रो भित्र झोलामा प्याकिङ गरी गाडिएको अवस्थामा ८ लाख ३० हजार ३०५ रुपैया पनि गरी कुल १३ लाख ९५ हजार २१५ नगद बरामद भएको झापा प्रहरीले जनाएको छ ।
यसैगरी पौडेलीको नाममा दर्ता कायम रहेको सवारी दर्ता किताव १ थान, विनोद काफ्लेको नामको सवारी चालक अनुमति पत्र १ थान ,अनिल बस्नेतको नामको सवारी चालक अनुमति पत्रको प्रतिलिपी, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी १ थान र सिम सहितको २ थान पनि बरामद भएको प्रहरीको भनाई छ । उनलाई थप अनुसन्धानको लागी महानगरीय अपराध महाशाखा मिनभवन काठमान्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।