धरान: व्यापारीहरुले ड्रेनमाथि र फुटपाथसमेत मिचेर सामानहरु राख्दा सडक साँघुरिएको र अनावश्यक भिडभाडले दुर्घटनासमेत भएको भन्दै धरान उपमहानगरपालिकाले फुटपाथको बजारलाई व्यवस्थापन गर्न शुरुवात गरेको छ ।

सरोकारवाला निकायहरुसहितको टोलीले आज(सोमबार)देखि धरानमा जथाभावी फुटपाथ मिचेर राख्ने पसलहरुलाई व्यवस्थित गर्न थालेको हो । फुटपाथ मिचेर अनधिकृतरुपमा पसलहरु राख्दा भिडभाड हुने र दुर्घटना पनि भएको कारण त्यस्ता पसलहरुलाई हटाउन थालिएको उपमहानगरपालिकाको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए । उनले भने,‘अनधिकृतरुपमा बाटोमा पसलहरु राख्दा सडक पनि मिचियो, भिडभाड हँुदा दुर्घटना भयो, र बजार पनि कुरुप देखियो । त्यसैले आजदेखि हामीले व्यवस्थित गर्न, त्यस्ता पसलहरु हटाउन थालेका छौं ।’

footh

उपमहानगरको अनुगमन अधिकृत, ईलाका प्रशासन कार्यालय, नगर प्रहरी, नेपाल प्रहरी, उपभोक्ता संरक्षण मञ्चलगायत सरोकारवाला निकायको प्रतिनिधिसहितको टोलीले फुटपाथ बजार व्यवस्थित गर्न हिडेको थियो । टोलीले भानुचोकको लोकतान्त्रिक चौतारीदेखि शुरु भएको फुटपाथ बजार, धरान २ नरेन्द्र पथको सब्जी मण्डी हुदै गौतम पथ र खहरे पुलसम्मको फुटपाथ पसलहरु हटाएको छ । त्यसक्रममा ड्रेन माथि राखिएका पसलहरु, हुक, त्रिपाल, टिन, सामान झुण्डाउन प्रयोग हुने सामग्रीहरु जफत गरिएको नगर प्रहरी निरीक्षक विष्णु कोइरालाले जानकारी दिए । कतिपयलाई भोलीसम्म क्लियर गर्न निर्देशन दिइएको छ ।

footh-pa

टोलीले भोली मंगलबार पनि फुटपाथ व्यवस्थापनको कार्यलाई निरन्तरता दिने जनाएको छ । धरानको प्रमुख बजार क्षेत्र देशीलाइन, पुरानो बजार क्षेत्रमा पनि फुटपाथ क्षेत्रलाई क्लियर गरिने नगर प्रहरी निरीक्षक कोइरालाले बताए । धरानको सडक फराकिलो भएपनि बजार क्षेत्रमा व्यापारीहरुले आफ्नो पसल अगाडिको फुटपाथ र ड्रेनसमेत मिचेर सामानहरु राख्ने गरेका छन् । जसले गर्दा पैदल यात्रीहरु मुल सडकबाट हिड्नुपर्ने हुन्छ भने सडक साँघुरो भएर अनावश्यक भिडभाड र दुर्घटना पनि हुने गरेको छ ।