धरान: धरान उपमहानगरपालिकाले धरान क्षेत्रको सेउती, पटनाली, सर्दु, सेहरालगायत खोलाहरुबाट नदीजन्य पदार्थको उत्खनन र बिक्री गरी आम्दानी बाँध्नको लागि ठेक्का लगाएपछि हरेक बर्ष लफडा हुने गर्छ ।
स्थानीयबासी तथा युवाहरुले जथाभावी उत्खनन्ले खोला गहिरिने र बाढी आउँदा बस्तीलाई क्षति पुर्याउने भन्दै विरोध जनाउछन् भने अवरोधसमेत गर्छन् । ठेकेदार पक्ष र युवाहरुबीच पटक पटक झडप भएका घटनाहरु पनि छन् । तर, अहिले ठेक्का प्रक्रियामा शुरु नै नभएको अवस्थामा पनि दिनदहाडै धरानका विभिन्न खोलाहरुबाट दिउँसै नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन् गरि बिक्रीविरतण भइरहेको छ । ट्याक्टरहरुले खोलाबाट नदीजन्य पदार्थको तस्करी गरिरहेका छन् । यो बेला भने न स्थानीयबासी विरोधमा उत्रन्छन्, न युवाहरु नै अवरोध गर्न पुग्छन् ।
सुकुम्बासी बस्तीका केही निम्न आर्थिक अवस्थाका परिवार खोलाबाट नदीजन्य पदार्थ संकलन गरेर बिक्री गर्छन्, र परिवारको गर्जो टार्ने गरेका छन् । तर, अधिकांश ट्याक्टरहरुले भने स्थानीय सरकारबाट कडा अनुगमन र कारबाही नगरेको मौकामा जथाभावीरुपमा उत्खनन् गरेर तस्करी गरिरहेका हुन्छन् । स्थानीयबासीहरुले पनि ती खोला माफियाहरुको विरोध गर्न नसक्ने धरान १५ का एक स्थानीय बताउँछन् । नाम उल्लेख नगर्ने सर्तमा ती व्यक्ति भन्छन्,‘नगरपालिकाले ठेक्का लगाएपछि खोला गहिरिन्छ भनेर हामीलाई विरोध गर्न उचाल्छ, पछि आफै दिनदहाडै ट्याक्टरमा झिकेर लैजान्छ ।’
दिनदहाडै नदीजन्य पदार्थको दोहन भइरहदा राजश्व गुमिरहेकोबारे उपमहानगरपालिका पनि जानकार छ । विपद तथा वातावरण महाशाखाका प्रमुख भेषराज घिमिरे अनुगमनको क्रममा अवैधरुपमा उत्खनन भइरहेको भेटेमा ट्याक्टर र व्यक्तिहरु नियन्त्रणमा लिएर कानुन अनुसार कारबाही गर्ने बताउँछन् । आइईई अध्ययन भइसकेको र चाडै सोही प्रतिवेदन अनुसार धरान क्षेत्रको खोलाहरुको ठेक्का प्रक्रिया शुरु गरिने बताउँछन् । उनले भने,‘कति उत्खनन गर्न मिल्ने भनेर अध्ययन प्रतिवेदन आइइई प्राप्त भइसकेको छ, त्यही अनुसार ठेक्का लगाएर आम्दानी बाँध्छौं ।’