धरानः घरपालुवा पशुचौपायलाई विभिन्न रोग लाग्नबाट बचाउन धरानमा निःशुल्क खोप अभियान शुरु गरिएको छ ।

धरानको वडा नं ५ स्थित देउरालीबाट निःशुल्क खोप अभियान शुरु गरिएको हो । देउरालीमा नगर प्रमुख तिलक राईले नगरस्तरीय निःशुल्क खोप सेवा कार्यक्रमको शुरुवात गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको सहयोगमा उपमहानगरपालिका पशु सेवा शाखाको आयोजनामा खोप दिन शुुरु गरिएको हो । सम्भावित महामारी फैलिन नदिन सर्तकता अपनाउन क्लासिकल स्वाईन फिभर, पि.पि.आर.र खोरेत रोगको विरुद्ध खोप दिन शुरु गरिएको शाखाको भनाई छ ।

‘पशुको संक्रमक रोकथाम र कृषकहरुको क्षति न्यूनिकरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ बाख्रा र सुंगुरलाई खोप दिन सुरु गरिएको शाखाले जनाएको छ । बाख्रालाई निःशुल्क खोप (पीपीआर) लगाउन आजबाट नै शुरु गरिएको छ । वडामा चार जना प्राविधिक स्वंयमसेवक खटाइएको छ । उनीहरुलाई नगर प्रमुख राईले खोप तथा औषधी सामग्री हस्तान्तरण गरेका छन् ।

pashu-khop

नगर प्रमुख राईले पशु शाखाबाट प्रदान गरिदै आएको सेवाहरुको बारेमा किसानलाई सही ढंगबाट सल्लाह, सुझाव र परामर्श दिन आग्रह गरे । खोपको बारेमा किसानलाई थाह हुनुपर्ने र खोप लगाएपछि किसानहरुले पुर्ण लाभ पाउनुपर्ने प्रमुख राईको भनाई थियो । उनले खोप लगाईसकेपछि निरीक्षण तथा अनुगमन गर्न पनि पशु शाखालाई निर्देशन दिए ।

आर्थिक विकास महाशाखा अन्र्तगतका पशु सेवा शाखाका प्रमुख महेन्द्र कुमार पैकराले आगामी वर्षदेखि खोप तथा रोगको बारेमा किसानहरुमा सचेतना गरिने बताए । टोल टोलमा पुगेर खोपको बारेमा पर्चा वितरण गर्ने साथै भ्याक्सिनको बारेम, प्रयोग गदा हुने फाइदा र कुन संस्थाबाट खोप आएको हो भनेर जानकारी दिइने पनि उनले बताए । पशु सेवा शाखाका डाक्टर विर्ख बहादुर राईले धरानको पशुपालन बढी गरिने क्षेत्रलाई लक्षित गरी निःशुल्क खोप कार्यक्रम संचालन गरिएको बताए । उनका अनुसार धरानको पशुपालन गरिने सबै क्षेत्रमा यो अभियान सञ्चालन गरिनेछ ।