धरान: बिहिबार धरान १५ स्थित होटल धरान किचनमा ग्राहकहरु बसेर खानपिन गरिरहेका थिए । उनीहरुको रोजाईमा ओल्ड दरबार(ओ.डि.) मदिरा थियो ।

पछिल्लो समय नेपालमा ओडि मदिराका पारखीहरुले निक्कै रुचाएको ब्राण्डमा पर्छ । रमाइलोसँग खानपिन चलिरहदा अचानक ती ग्राहकहरुको मुड वदलियो । उनीहरु धरान किचनका सञ्चालकलाई बोलाए, र भन्न थाले,' नक्कली ओल्ड दरबार जस्तो छ, किन दिएको ? ' ग्राहकको कुराले सञ्चालक कृष्ण पाठक पनि अलमलिए । के भएको हो भन्ने भेउ नै पाएनन् ।

खासमा दुई कलरको ओल्ड दरबार देखिए पछि ती ग्राहकहरु पनि झसंग भएका रहेछन् । उनीहरुले शुरुमा पिएको ओडिको रंग गाढा रातो थियो भने पछि पिएको ओडिको रंग पातलो थियो । एउटै कम्पनीको एउटै उत्पादन दुई कलरको देखिए पछि ग्राहकहरुलाई नक्कली भन्ने शंका भएछ । त्यसैले उनीहरुले धरान किचनका सञ्चालक पाठकसँग त्यही कुरा जिकिर गरे । उनीहरुले पछिल्लो पातलो कलर भएको ओडिको पेमेन्ट पनि नगरेको पाठकले बताए । ‘एउटा बोतलमा गाढा रातो छ, अर्को सेतो पतलो रंगको छ,’सञ्चालक पाठकले भने,‘ग्राहकहरुले नक्कली पर्यो भनेर पतलो सेतो कलरको पेमेन्ट नै गर्न मानेनन्, आधा भएको त्यो बोतल हामीले नै राखेका छौं ।’

old-darbar

बेला बेला बजारमा विभिन्न ब्राण्डका मदिराहरुको नक्कली उत्पादन भेटिने गरेको छ । केही बर्षअघि धरानको भानुचोकस्थित एक पसलमा ठुलो मात्रामा विभिन्न ब्राण्डको नक्कली उत्पादन वरामद भएको थियो । कम्पनीले उत्पादन गरे जस्तै गरि उस्तै बोतल, लेवल र स्टिकर लगाएर व्यक्तिहरुले नक्कली मदिरा उत्पादन गर्ने गरेका छन् । कतै यो ओल्ड दरबारको पनि त्यसरी नै नक्कली उत्पादन त बजारमा आएको होइन ? धरान किचनको बिहिबारको घटनाले आशंका जन्माएको छ । ‘खोल पनि गाढा र लाइट कलरको फरक फरक छ । हामीले डिलर र कम्पनीका मान्छेलाई भनिसक्यौं । घाममा राख्दा पनि कलर त्यस्तो भएको हो पनि भने,’पाठकले भने,‘तर एउटा, दुईटा पो होला, सबैले त घाममा राख्दैनन् । ग्राहकले त नक्कली नै हो भन्छन् नि ।’

अरु कम्पनीको क्युआर कोडमा उत्पादनको डिटेल विवरण आउने गर्छ । तर, ओल्ड दरबारको क्युआर कोडमा भने ओल्ड दरबार भन्ने मात्र आएको पाठकले बताए । यता कम्पनीको सेल्स मेनेजर विमल श्रेष्ठले भने आफु बाहिर भएकोले के भएको हो भनेर आइतबार मात्र जानकारी पाउने बताए । उनले कहिलेकही घाम पर्दा कलर उड्ने गरेको बताए । ‘के भएको हो भनेर हामीले हेर्नुपर्ने हुन्छ, म बाहिर भएकोले आइतबार आएर मात्र हेर्छु,’श्रेष्ठले भने,‘कहिले कही घाम पर्यो भने कलर उडेको हुन्छ । नक्कली नै हो भने पनि कम्पनीले गर्दैन, बाहिरबाट मानिसहरुले गरेको हुनसक्छ ।’

old-d