धरान ः नेपालमा आजदेखि दोस्रो प्राथमिकतामा रहेकाहरुलाई कोरोना विरुद्धको खोप अभियान शुरु हुदैछ ।

दोस्रो प्राथमिकतामा यसपाली यसअघि छुटेका स्वास्थ्यकर्मीहरुसँगै स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई पनि खोप दिइनेछ । यसैगरी, निजामति कर्मचारीहरु, जनपद प्रहरी, सशस्त्र प्रहरीहरुलाई पनि खोप दिइनेछ जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । यस्तै, बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरु, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारीहरु, अदालतका न्यायाधिश र सरकारी वकिल, पत्रकारहरुलाई खोप दिइनेछ ।

भारत सरकारले अनुदन स्वरुप उपलब्ध गराएको कोभिसिल्ड भ्याक्सिन पहिलो चरणमा पहिलो प्राथमिकतामा रहेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सफाईकर्मी, एम्बुलेन्स चालकहरुलाई दिइएको थियो । सुनसरीमा पनि आजदेखि १२ स्थानीय तहहरुमा ७ हजार १ सय ६६ जनालाई लक्षित गरेर खोप अभियान शुरु हुनेछ । तर धरानमा भने भोली सोमबारदेखि मात्र खोप लगाउन शुरु हुनेछ ।

धरान १ छाताचोकस्थित पुरानो अस्पताल परिसरमा रहेको स्वास्थ्य चौकीमा खोप केन्द्र रहने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । धरानमा आज, भोली र पर्सिसम्म खोप लगाइनेछ । धरानमा १६ सयलाई खोप लगाउने लक्ष्य राखिएको छ ।