धरान: नेपाल सरकारको निर्णय अनुसार पहिलो चरणको दोस्रो प्राथमिकतामा रहेकाहरुलाई कोरोना विरुद्धको खोप अभियान आइतबार(भोली)देखि सुनसरीमा पनि शुरु हुने भएको छ ।

जिल्लाका १२ स्थानीय तहहरुमा ७ हजार १ सय ६६ जनालाई लक्षित गरेर खोप अभियान शुरु गरिने स्वास्थ्य कार्यालय सुनसरीले जानकारी दिएको छ । जिल्लामा फागुन २ गते आइतबारदेखि खोप अभियान शुरु हुने भएपनि धरानमा भने ३ गते सोमबारदेखि मात्र खोप लगाइनेछ । धरान १ छाताचोकस्थित पुरानो अस्पताल परिसरमा रहेको स्वास्थ्य चौकीमा खोप केन्द्र रहने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनले भने,‘जिल्लामा भोली आइतबारदेखि खोप अभियान शुरु हुदैछ, धरानमा पर्सिदेखि पुरानो अस्पताल परिसरमा लगाइन्छ ।’

धरानमा ३,४ र ५ गते खोप लगाइनेछ । यसअघि धरानमा वीपी प्रतिष्ठान र विजयपुर हस्पिटलमा रहेको खोप केन्द्रमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सफाईकर्मी, एम्बुलेन्स चालकलगायतलाई खोप दिइएको थियो । भारत सरकारले अनुदान स्वरुप दिएको १० लाख डोज कोभिसिल्ड खोप सहयोग गरेपछि सरकारले पहिलो चरणमा पहिलो प्राथमिकतामा फ्रन्टलाइनरहरुलाई दिएको हो ।

यसपाली भने यसअघि पनि छुटेका स्वास्थ्यकर्मीहरुसँगै स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई पनि खोप दिइनेछ । यस्तै, निजामति कर्मचारीहरु, जनपद प्रहरी, सशस्त्र प्रहरी, बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरु, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारीहरु, अदालतका न्यायाधिश र सरकारी वकिल, पत्रकारहरुलाई खोप लगाइने मेहताले जानकारी दिए । धरानमा १६ सयलाई खोप लगाउने लक्ष्य राखिएको छ । मेहताका अनुसार धरानमा आइतबार बेलुका वा सोमबार बिहानै भ्याक्सिन आइपुग्नेछ । ‘लक्षित सबै जनाले यसपाली भ्याक्सिन लगाउन नछुटाउन आग्रह गर्छु’मेहताले भने ।

covid