धरानः कपडा सिलाईमा कमिशन प्रथा अन्त्य नभएको भन्दै धरानका सिलाई व्यवसायीहरुले विरोध जुलुस निकालेका छन् ।

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ, प्रदेश १ समन्वय समितिको आह्वानमा सोमबार धरानमा विरोध जुलुस भएको हो । धरान १२ स्थित पब्लिक हाइस्कुलबाट निस्किएको विरोध र्याली भानुचोक लोकतान्त्रिक चौतारीसम्म भएको थियो । सिलाई व्यवसायीहरुका अनुसार कपडा सिलाउदा कमिसन दिनुपर्ने चलन अन्त्य नहुँदा मार परेकोले विरोधमा उत्रनु परेको हो ।

व्यवसायी इम्तियाज अलीका अनुासर बिशेष गरि स्कुलको ड्रेसमा ठुलो कमिसनको खेल छ । अन्य कपडामा पनि कमिसन दिनुपर्ने बाध्यता रहेको उनले बताए । कमिसनकै कारण कपडा सिलाईको भार उपभोक्तालाई पनि पर्ने गरेको सिलाई व्यवसायीहरुको भनाई छ । कपडा पसलेले कमिसन दिने टेलर्समा मात्र ग्राहकलाई पठाइदिने गरेका छन् । कपडा पसललाई दिने कमिसन टेलर्स व्वयवसायीले ग्राहकसँग नै असुल्न बाध्य भएको व्यवसायीहरु बताउँछन् । कमिसन प्रथा अन्त्यकै लागि आन्दोलनमा उत्रनुपरेको व्यवसायीहरुले बताए ।