धरान: २०७२ सालको महाभुकम्पले क्षति पुगेर धरान १३ फुस्रेस्थित पब्लिक माविको भवन जीर्ण अवस्थामा थियो । जीर्ण अवस्थाको विद्यालयमा करिब ५ बर्षपछि नयाँ भवन बन्ने भएको छ ।

मंगलबार धरानका प्रमुख तिलक राईले बन्न लागेको भवनको शिलान्यास गरेका छन् । संघीय सरकारको विद्यालय निर्माण बिशेष अनुदान र उपमहानगरको पहलमा नयाँ भवन बन्न लागेको हो । आले निर्माण सेवा पाँचथरले १ करोड २७ लाख १० हजार लागतमा ठेक्का पाएको छ । निर्माण कम्पनीले आगामी असार मसान्त भित्र ९ वटा कोठा भएको ३ तले भवन निर्माण सम्पन्न गर्नुपर्ने छ ।

मेयर राईले विद्यालय भवन निर्माणको काम समयमै सक्न ठेकेदार र निर्माण कम्पनीलाई आग्रह गरेका छन् । धरानको स्कुलहरु पुराना र जीर्ण हुँदै गएको भन्दै मेयर राईले भौतिक संरचनाहरु पुर्ननिर्माण गर्न आवश्यक भएको बताए । भौतिक संरचना, ड्रेस, पाठ्यक्रम र शिक्षकहरुमा गुणस्तर बढेको कारण सामुदायिक विद्यालयहरुम विद्यार्थीको आर्कषण बढेको पनि बताए ।

fushre-school1

उपमेयर मञ्जु भण्डारी सुवेदीले एक्लैको प्रयासबाट मात्र नभई सबैको सामुहिक प्रयासमा विद्यालय भवन निर्माणको काम सुरु भएको बताइन् । उनले पनि धरानका सबै सामुदायिक स्कुलहरुको भौतिक संरचनाहरु पुननिर्माण गर्नु पर्ने बताइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनसेवक भण्डारीले उपमहानगरपालिकाको पहलमा भवन निर्माण हुन लागेको भन्दै खुशी व्यक्त गरे ।

वडाध्यक्ष नेत्र काफ्लेले पनि भवन निर्माणको काम द्रुत गतिमा गरेर समयमै सम्पन्न गर्न आग्रह गरे । अध्यक्ष काफ्लेका अनुसार २०७२ मा भुकम्पले क्षति पुगेको जीर्ण भवनलाई आर्थिक बर्ष २०७६÷७७ मा प्रदेश १ का सभामुख प्रदिपकुमर भण्डारीले ५० लाख बजेट विनियोजन गरेका थिए । उक्त बजेटबाट ४ कोठाको भवन निर्माण भइसकेको छ । मंगलबार शिलान्यास भएको भवन भुईतलामा ३ कोठा, बीचमा ३ कोठा र तेस्रो तलामा ३ कोठाको हुनेछ । विद्यालयका प्रध्यानाध्यापक पुरुषोत्तम निरौलाका अनुसार हाल उक्त विद्यालयमा ४ सय ४५ जना विद्यार्थीहरु रहेको जानकारी दिए ।