धरान: ब्रिटिश आर्मीमा भर्ती गराइदिने वहानामा दलालहरुले ठगी गरिरहेकोविरुद्ध कलम चलाउने पत्रकारहरुलाई पुरस्कृत गर्न घोषणा गरिएको वीर गोर्खा पत्रकारिता र नवप्रतिभा पत्रकारिता पुरस्कारको राशी वृद्धि गरिएको छ ।

धरान १८, रत्नचोकस्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले स्थापना गरेको दुवै पुरस्कारको राशी वृद्धि भएको हो । सेन्टरका प्रबन्ध निर्देशक प्रेम मुकारुङ राईका अनुसार ब्रिटिश आर्मीमा कार्यरत कर्पोरल मण्डल थेवेले वीर गोर्खा पत्रकारिता पुरस्कारको लागि ३० हजार थप गरिदिएका छन् । योसँगै यो पुरस्कारको राशी ५० हजार पुगेको छ । यसअघि, गत माघ १८ गते राईले पत्रकार सम्मेलन गर्दै २० हजार राशीको यो पुरस्कार दिने घोषणा गरेका थिए ।

यस्तै, १५ हजार राशीको नवप्रतिभा पत्रकारिता पुरस्कार राशीमा पनि बहराइन आर्मीमा कार्यरत मविन राईले ५ हजार थपिदिने घोषणा गरेका छन् । यो पुरस्कार राशी पनि अब २० हजारको हुने भएको छ । ‘उहाँहरुले गोर्खा भर्तीमा भइरहेको दलाली प्रथा अन्त्यको लागि शुरु भएको अभियानलाई समर्थन जनाउदै पुरस्कार राशी थप गरिदिने भनेर घोषणा गर्नुभएको छ, हाम्रो यो अभियानले व्यापकता पाउदै गएको छ,’गोर्खा कम्पनीका प्रबन्ध निर्देशक राईले भने,‘दुवै जनाले प्रत्येक बर्ष पुरस्कार राशी दिने भन्नु भएको छ ।’

गोर्खा भर्तीको नाममा ठगी गर्ने दलालहरुको भण्डाफोर गर्ने उद्देश्यले सेन्टरले पुरस्कार स्थापना गरेको हो । गोर्खा भर्तीमा लगाइदिने भन्दै सोझासाझा युवाहरुलाई ठगी गर्नेहरु विरुद्ध कलम चलाउने, ब्रिटिश आर्मी र सिंगापुर पुलिसको निःशुल्क, निष्पक्ष र पारदर्शी छनौट प्रक्रियाबारे कलम चलाउने, गोर्खाको ईतिहास, वर्तमान, देश निर्माणमा गोर्खाहरुले पुर्याएको योगदान एवं गोर्खाहरुको सामाजिक क्षेत्रमा सक्रियतालाई उजागर गर्न कलम चलाउने पत्रकारहरुको सम्मान स्वरुप पत्रकारिता पुरस्कार स्थापना गरिएको प्रबन्ध निर्देशक राईले बताए । नेपाल प्रेस युनियनसँगको सहकार्यमा यो पुरस्कार हरेक वर्ष बैशाख १ गते वितरण गरिनेछ ।