धरान: ब्रिटिश आर्मी र सिंगापुर पुलिसको भर्ती छनौट प्रक्रिया सोर्स फार्स विना निष्पक्ष र पारदर्शीरुपमा हुने गर्छ । तथापी, हरेक बर्ष छनौट चरणको बेला ठुलो आर्थिक चलखेल हुने गरेको चर्चा भने भइनै रहन्छ ।

खास गरि धरानलगायत विभिन्न ठाउँमा बग्रेल्ती खुलेका गोर्खा भर्ती ट्रेनिङ सेन्टरका सञ्चालकहरुले आफ्ना प्रशिक्षार्थीहरुलाई भर्ती गराइदिने भन्दै लाखौंको बर्गेनिङ गर्ने गरेको र भर्ती लागिसके पछि उनीहरुका अभिभावकहरुबाट असुल्ने गरेको बताइन्छ । अहिलेसम्म कसैले पनि सप्रमाण सेन्टरहरुले पैसा लिएको बारे भने खुलाएका छैनन् । तर, यो ठगीको बिषय ओपन सेक्रेट जस्तै नै छ ।

आज आइतबार भने धरानको एक ट्रेनिङ सेन्टरका सञ्चालकले नै सोझा साझा नेपाली दाजुभाईहरुलाई भर्तीमा सोर्सफोर्स लगाउने भन्दै ठगी गरिरहेको सार्वजनिक गरेका छन् । धरान १८, रत्नचोकस्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरका प्रोपाइटर प्रेमकुमार राईले ब्रिटिश गोर्खा र सिंगापुर पुलिसको छनौट प्रक्रिया निःशुल्क, निष्पक्ष र पारदर्शी भएता पनि प्रत्येक बर्ष सयौं युवाहरुलाई दलालहरुले विभिन्न प्रलोभन देखाएर ठग्ने गरेको बताए ।

british1

आफ्नै कार्यालयमा आयोजित पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममा राईले आफुले स्थापना गरेको गोर्खा कम्पनी ट्रेनिङ सेन्टर भने ती दलालहरुको हातबाट सोझा साझा युवाहरुलाई जोगाउने मिशनकोरुपमा अघि बढेको पनि बताए । ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएका सञ्चालकहरु र अन्य व्यक्तिहरुले भर्तीमा सोर्सफोर्स लगाउने भन्दै ठगी गरिरहेको उनले दाबी गरेका छन् । ‘ठगी गरेर पैसा माग्ने सँस्कार बनाइदियो,आज प्रत्येक व्यक्तिलाई पैसा नदिइकन, पैसा नखुवाईकन भर्ती लागिदैन भन्ने छ, तर यो कुरा सरासर गलत हो,’उनले भने ।

सञ्चालक राईले आफु पनि सन् २००७ मा आफ्नै मेहनत र क्षमतामा भर्ती लागेको तर घरमा फोन गरेर १५ लाख रुपैया झिक्नुपर्छ भनेर माग गरेको बारे पछि मात्र थाह पाएको बताए । ‘मैले ब्रिटिश आर्मी, सिंगापुर पुलिसमा कोही पनि चिनेको थिइन । मेरो क्षमता हेरेर मलाई ब्रिटिश आर्मीमा मौका दिएर भर्ती लिएको थियो । तर त्यो अवस्थामा पनि मेरो परिवारलाई फोन गरेर प्रेमभाईलाई बाहिर साबलाई भेटाइदिएका छौं, गोप्य हो १५ लाख रुपैया झिक्नुपर्छ भनेर माग गरेको रहेछ,’उनले भने,‘त्यतिबेला अहिलेको जस्तो मोवाइल थिएन । एसटिडिबाट फोन गर्नुपथ्र्यो । मैले पछि परिावरलााई फोन गर्दा १५ लाख माग गरेको थाह पाएँ । मैले दिदीलाई त्यो होइन भने । मेरो त सानो कहानी मात्र हो, यस्तो खोज्दै जादा धेरै पाउनुहुन्छ ।’

british2

उनले दलालको फन्दामा परेर धरान १६ जोरसखुवाकी एक महिलाले छोराको लागि घर बेचेर पैसा दिदा अहिले सुकुम्बासी बस्तीमा बस्नुपरेको पनि उदाहरण दिए । सेन्टर सञ्चालकले भर्ती लाग्न २५ लाख चाहिन्छ भनेर माग गरेपछि घर बेचेको तर पछि छोरा भर्ती नलागेपछि अहिले धरान १३ सुकुम्बासीमा बस्नु परेको राईले बताए । छोरा भने मलेसिया गएको उनको भनाई छ । ‘यस्तो कहानी प्रत्येकको घरमा छ । स्वयम मेरो भेना पनि सर्भिसमा हुनुहुन्छ, उहाँले भन्नु भयो सन् २००१ मा ८ लाख रुपैया तिरेर भर्ती लागेको हुँ,ठग्ने टाढाको थिएन,’उनले भने,‘हामी नेपाललाई भ्रष्टचारमुक्त बनाउन भनेर लागिपरेका छौं, तर गोर्खा भर्तीको नाममा प्रत्येक बर्ष लाखौं, करोडौं होइन, अरबौंको भ्रष्टचार हुदै आएको छ । यो भ्रष्टचार अन्तय गर्ने अठोटका साथ गोर्खा कम्पनी ट्रेनिङ सेन्टर लागिपरेका छौं ।’

वीर गोर्खा पत्रकारिता र नवप्रतिभा पत्रकारिता पुरस्कार घोषणा

गोर्खा कम्पनी ट्रोनिङ सेन्टर धरान १८ ले दुई वटा पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । सेन्टरले आज पत्रकार सम्मेलन गर्दै प्रेस युनियन धरानसँग सहकार्य गरेर हरेक बर्ष पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

सेन्टरका सञ्चालक प्रेकुमार राईले गोर्खा भर्ती लगाइदिने भन्दै सोझा साझा युवाहरुलाई ठगी गर्नेहरुकोविरुद्ध कलम चलाउने, ब्रिटिस आर्मी र सिंगापुर पुलिसको निःशुल्क, निष्पक्ष र पारदर्शी छनौट प्रक्रियाबारे कलम चलाउने पत्रकारहरुलाई पुरस्कार दिइने बताए । साथै उनले गोर्खाको इतिहास, वर्तमान, देश निर्माणमा गोर्खाहरुले पुर्याएको योगदान एवं गोर्खाहरुको सामाजिक क्षेत्रमा सक्रियतालाई उजागर गर्न कलम चलाउने पत्रकारहरुलाई सम्मान स्वरुप पुरस्कार दिइने उनले बताए ।

british3

सेन्टरले घोषणा गरेको वीर गोर्खा पत्रकारिता पुरस्कारको राशी २० हजार र सम्मान पत्र रहेको छ भने वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कारको राशी नगद १५ हजार र सम्मान पत्र रहेको छ । उनले हरेक बर्ष बैशाख १ गते यो पुरस्कार प्रदान गर्ने पनि बताए । साथै चाडै अक्षय कोष स्थापना गरेर भविष्यमा निरन्तरता दिइने उनले घोषणा पनि गरे । अग्रज पत्रकार हर्ष सुब्बाले गोर्खा भर्तीको नाममा हुने ठगी तथा भ्रष्टचारको बिषयलाई पनि पत्रकारहरुले उजागर गर्नुपर्ने धारणा राखे । उनले गोर्खा भर्तीको नाममा हुने विकृतिविरुद्ध आवाज उठाएकोमा सञ्चालक राईको प्रसंसा पनि गरे । सोही कार्यक्रममा सञ्चालक राईले मस्तिष्क पक्षघात भई उपचाररत सञ्चारकर्मी दिलिप रोनोहाङको उपचारको लागि नगद १० हजार पनि हस्तान्तरण गरेका थिए । 

भिडियो: