धरान: निर्धारित समय भन्द झण्डै ३ घण्टा ढिला गरि धरान उपमहानगरपालिकाको आठौं नगरसभा शुरु भएको छ ।

दिउँसो १ बजेको लागि नगरसभा आह्वान गरिए पनि खानेपानीको विवादले गर्दा समयमा शुरु हुन सकेन । विभिन्न वडाका वडाबासीहरुसहित जनप्रतिनिधिहरुले नै खानेपानीको चरम अभाव भएको भन्दै सभास्थलमा घेराउ र नाराबाजी गरेपछि सभा समयमा शुरु हुन सकेको थिएन । झण्डै २ घण्टा पछि मेयर तिलक राईले आन्दोलित नगरबासीहरुलाई सम्बोधन गरेर फागुन २१ गते भन्दा अघि नै खानेपानी संस्थान बोर्डमा गाभ्ने र पानी एकद्धार प्रणालीबाट सहजरुपमा वितरण गर्ने प्रतिवद्धता जनाएका थिए ।

मेयर राईको यो प्रतिवद्धता पछि आन्दोलित वडाबासीहरु घर फर्किएका थिए । त्यसपछि मात्र नगरसभा सञ्चालन गर्ने वातावरण बनेको हो । नगर सभामा प्रमुख अतिथि प्रदेशसभका सभामुख प्रदिप भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामुख भण्डारीले सम्बोधन गरेपछि नगरसभा फागुन २१ गतेसम्मको लागि स्थगित हुनेछ ।

nagar-sava1

मेयर राईका अनुसार वीपी प्रतिष्ठानको खानेपानी संरचना पनि संस्थानले विगत २२ बर्षदेखि व्यवस्थापन गरिरहेकोले उक्त संरचनाको अध्ययन प्रतिवेदन आउन ढिलाई हुँदा संस्थानलाई जिम्मा लिन ढिलाई भएको थियो । प्रतिष्ठानबाट प्रतिवेदन र पत्रसमेत आइसकेकोले अब भोलीदेखि हस्तान्तरण प्रक्रिया अघि बढ्ने र २१ गते अघि नै समस्या समाधान भइसक्ने बताए । उनले आज नगरसभा उद्घाटन मात्र भएर स्थगित हुने र बैठक २१ गते बस्ने पनि जानकारी दिए । फागुन २० गतेभित्र समाधान नभए २१ गतेको बैठकमा पनि आज झैं विरोध गर्न सकिने उनले बताएका थिए ।