इटहरी: 'सम्पत्ति देख्दा महादेवको पनि तीन नेत्र' भन्ने नेपाली उखान छ । यो भनाईको तात्पर्य सम्पत्ति भनेपछि सबैलाई लोभ हुन्छ भन्ने हो ।

सम्पत्तिकै कारण कयौं झगडा भएको छ, आफन्तबीचमै काटमार भएको छ । तर, सबैको हकमा यो उखान काम नलाग्न पनि सक्छ । यसको पछिल्लो उदाहरण इटहरी वडा नं ३ मा एक परिवारले पेश गरेका छन् । वडा नं ३ को कार्यालय भवष्न बनाउनको लागि स्थानीय भट्टराई परिवारले डेढ कट्ठा जग्गा प्रदान गरेको छ । यो जग्गाको मुल्य अहिले एक करोड बराबर रहेको छ । स्थानीय वल वहादुर भट्टराईको परिवारले वडा कार्यालयका लागि जग्गा प्रदान गरेको हो ।

सोही जग्गामा इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले वडा कार्यालय भवनको शिल्यान्यास गरे । भट्टराई परिवारले वडा कार्यालय भवन निर्माणका लागि जग्गा प्रदान गरेकोमा प्रमुख चौधरीले धन्यवाद दिएका थिए । कार्यक्रममा भट्टराई परिवारका सदस्यहरुलाई दोसल्ला र माला लगाएर सम्मान समेत गरिएको थियो ।

प्रमुख चौधरीले यो बर्ष इटहरीमा एक अर्ब बढीको भौतिक संरचना निर्माण हुने बताएका छन् । इटहरी वडा नम्वर ३ को वडा कार्यालय भवन शिल्यान्यास गर्दै प्रमुख चौधरीले इटहरीमा गत बर्ष भन्दा बढी भौतिक निर्माण हुने बताए । उनले ८५ करोडका योजना टेण्डर भइसकेको र ४० भन्दा बढी वहुवर्षीय योजना समेत टेण्डर प्रक्रियामा रहेको जानकारी दिए । इटहरीमा गत बर्ष सुरु भएको पाँच वटा बहुवर्षे सडक निर्माण भइसकेको उपमहानगरले जनाएको छ ।

प्रमुख चौधरीले कोरोना महामारी र प्रतिकुल राजनीतिक अवस्थामा पनि इटहरीमा विकासले गति लिएको दाबी गरे । उनले नेकपामा देखिएको विग्रहले इटहरीको विकासमा कुनै प्रभाव नपार्ने पनि बताए । उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा हुने विकास निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने वताइन् । निर्माण कार्य भइरहदा जनस्तरवाट पनि खवरदारी हुनु पर्नेमा उनले जोडदिइन् । वडाध्यक्ष वालकृष्ण विष्टले वडा नम्वर ३ मा भौतिक निर्माण कार्यले गतिलिएको वताए । उपमहानगरका इन्जिनियर जीवन घिमिरेले ८४ लाख ३५ हजारको लागतमा भूकम्प प्रतिरोधी तथा अपांगतामैत्री वडा कार्यालय भवन निर्माण हुने वताए ।