विराटनगर: मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका एक जना आरोपी पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत मोरङले पक्राउ परेका २ जना आरोपी मध्ये एक जनालाई कारागार चलान गरेको हो भने अर्का आरोपीलाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको छ । श्रेस्तेदार राजकुमार दाहालका अनुसार २९ वर्षीय मेहरमान दर्जीलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । यस्तै, अर्का आरोपी ३४ वर्षीय कुमार राईलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको दाहालले बताए ।

प्रविणको गत पुस ५ गते शंकास्पद अवस्थामा शव फेला परेको थियो । उनको हत्या आरोपमा प्रहरीले ६ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । ती मध्ये मेहरमान र कुमार पक्राउ परेका थिए भने अन्य फरार छन् । प्रहरीका अनुसार फरार हुनेमा उर्लाबारी–६ का राजेश रणपहेली, सुदीप परियार, दिपेश पौडेल र रमेश गिरी छन् ।

प्रविणको हत्या भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर, तर, सरकारी वकिलको कार्यालयले मृत्युको कारण प्रष्ट नभएको भन्दै जमानीमा छोड्न निर्देशन दिएपछि छुटेका थिए । बास्तोलाको गत पुस ५ गते साथीको घरमा सुतेकै ठाउँमा शंकास्पद मृत्यु भएको थियो।

मृतकका बहिनीले दाजुको हत्यामा संलग्नहरुलाई प्रहरीले नै जोगाएको साथै मिसिलमा फोटो परिवर्तन गरेको भन्दै फेसबुकमार्फत लाइभ गरेपछि यो घटनाले विश्वभरका नेपालीहरुको ध्यान खिचेको थियो । त्यसपछि जिल्ला प्रहरीले उक्त घटनाको छानबिन गर्न डिएसपीको कमाण्डमा टोली उर्लाबारी पठाएको थियो । हत्या भए पनि दोषीलाई प्रहरीले उन्मुक्ति दिएको तथा मृतकको मिसिलमा अर्कैको व्यक्तिको फोटो राखिएको भन्दै आफन्त र परिवारका सदस्यहरु आन्दोलित बनेका थिए ।