धरान: धरान २० विष्णुपादुकास्थित माछामारा डाँडामा निर्माणाधिन ब्रिटिश गोर्खा स्मृति पार्कको नयाँ कार्यसमिति चयन भएको छ ।

अधिकांश साविक अनुहार दोहोरिदा केही नयाँ भाञ्जाहरु पनि कार्यसमितिमा थप भएका छन् । आज(शनिबार) धरान १० स्थित सैनिक भवनमा सम्पन्न साधारणसभाले पुर्वक्याप्टेन हरिबहादुर लिम्बु अध्यक्ष रहेको १५ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा चन्द्रमाया लिम्बु, सचिवमा क्याप्टेन जगमोहन राई, सहसचिव भुमी इस्वो, कोषाध्यक्षमा लप्टन उमेशचन्द्र लिम्बु चयन भएका छन् । यसैगरि, सदस्यहरुमा सिंहबहादुर लिम्बु, तीर्थराज लिम्बु, सुवित्रा राई, प्रमिला राई, डम्बर राई, नरप्रसाद लिम्बु, गोपाल राई, गजेन्द्रकुमार चोङबाङ, रमु राई र देवराज राई चयन भएका छन् ।

परिकल्पनाकार रमेश राईलाई सम्मान

ramesh

पुर्वब्रिटिश लाहुरेहरुको वीरताको योगदानलाई स्मरणीय बनाइराख्ने तथा पर्यटकीय गन्तव्य बनाउने उद्देश्य यो पार्क निर्माण भइरहेको छ । यसको परिकल्पनाकार धरान ८ निवासी पुर्वलाहुरे रमेश राई हुन् । उनको परिकल्पनालाई उनीसहित स्वर्गीय गजेन्द्र इस्पोले कार्यान्वयनमा ल्याएका हुन् । इस्पोको निधन भइसकेको छ ।

उनै पार्कको परिकल्पनाकार राईलाई आज साधारणसभाको अवसरमा बिशेष सम्मान गरिएको थियो । ‘उहाँ यो पार्कको परिकल्पनाकार हुनुहुन्छ, उहाँको परिकल्पनालाई गजेन्द्र इस्पोले एक्सनमा लैजानु भयो,’कार्यसमिति सदस्य नरप्रसाद लिम्बुले भने,‘आज साधारणसभाको अवसरमा परिकल्पनाकार रमेश राईलाई ताम्रपत्रसहित बिशेष सम्मान गर्यौं ।’

पार्कको जग्गा भाडा वा लिजमा दिने निर्णय

gurkha

२०६३ सालमा दर्ता भएको पार्कको विधानलाई साधारणसभाले पहिलो संशोधन भएको गरेको छ । कार्यसमिति सदस्य लिम्बुका अनुसार साधारणसभाले पार्कको जग्गालाई भाडा वा लिजमा दिएर दीर्घकालिनरुपमा पर्यटकीय गतिविधिहरु सञ्चालन गर्ने प्रस्तावलाई पारित गरेको छ । ‘पार्कलाई व्यवसायिकरुपमा सञ्चालन गर्न दिएपनि त्यसबाट हुने आम्दानी भूपू परिवार, स्थानीय जनताको लागि कल्याणकारी काममा खर्च गर्ने प्रसताव पारित भएको छ,’उनले भने ।