धरान: खाद्य स्वच्छताको आधारमा स्तरीकरण गर्ने अभियानको दोस्रो दिन धरानमा थप १२ वटा होटेलहरु अनुगमन गरि स्तरीकरण गरिएको छ ।

दोस्रो दिन अनुगमन गरिएको दर्जन होटलमा कुनै पनि होटेल अतिउत्तम अर्थात क वर्गमा परेनन् । खाद्य तथा गुण नियन्त्रण कार्यालय सुनसरीका अनुसार सोमबार ३ वटा होटेल उत्तम अर्थात ख वर्गमा परे भने ४ वटा सन्तोषजनक अर्थात ग मा परे । घ अर्थात सामन्यमा २ वटा होटेल स्तरीकरण हुँदा अन्य ३ वटा होटल स्तरीकरणमा नै पर्न नसकेको र सुधार गर्न निर्देशन दिइएको कार्यालयले जनाएको छ । यसअघि पहिलो दिन आइतबार ८ वटा होटेलको स्तरीकरण गर्दा धरानको होटेल गजुर प्यालेस मात्र अतिउत्तम अर्थात क मा स्तरीकरण भएको थियो ।

कार्यालयका प्रमुख काशीनाथ घिमिरेका अनुसार सोमबार धरानका होटल ड्रिमल्याण्ड, इजी राइडर र ओ.ई.सि.सेकुवा कर्नर मात्र उत्तम(ख)मा परेर २ स्टारको स्टिकर पाउन सफल भयो । यस्तै, सन्तोषकजनक(ग) होटेलमा एमएच बिबिक्यु, न्यु बगरकोट दोहोरी साँझ, भिन्टेज फेमिली रिसोर्ट र वाइट डोभ स्तरीकरण भएको छ । सामान्य होटलमा स्तरीकरण हुनेमा होटल भाइभ र हवाना लञ्ज एण्ड बार परेको छ ।

hotel 1

यसैगरि, रत्न इन, भिन्टेज लाउञ्ज एण्ड बार र हाङकुक साराङ कोरियन रेष्टुरेष्ट वर्गीकरणमा पर्न सकेनन् । ती होटेल तथा रेष्टुरेष्टहरुलाई सुधार गरेपनि पुनः मुल्यांकन गर्ने गरि स्तरीकरण नगरिएको धरान उपमहानगरका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । हाङकुक साराङ यसअघि २०७४ सालमा अतिउत्तम(क)मा स्तरीकरण भएको थियो । खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुरेष्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका २०७३ अनुसार उपभोक्ताहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउन स्तरीकरण गरिएको कार्यालयका प्रमुख घिमिरेले बताए ।