धरान: ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित दोभान बजारमा हिजो मंगलबार भएको आगलागीबाट विस्थापित परिवारलाई गाउँपालिकाले राहत स्वरुप आर्थिक सहयोग गरेको छ ।

गाउँपालिकाले पीडित प्रत्येक परिवारलाई १५ हजारको दरले राहत उपलब्ध गराएको अध्यक्ष गणेशबहादुर लिम्बुले जानकारी दिए । उनका अनुसार पीडित परिवारलाई रेडक्रसले त्रिपाललगायत सामग्री वितरण गरेको छ भने उद्योग वाणिज्य संघले खाद्यान्न वितरण गरेको छ । ‘गाउँपालिकाको तर्फबाट प्रत्येक परिवारलाई १५ हजारको दरले नगद दियौं,’अध्यक्ष लिम्बुले भने,‘रेडक्रसले त्रिपाल दियो, उद्योग वाणिज्य संघले खाद्यान्न बाँडेको छ ।’

हिजो भएको आगलागीबाट दोभान बजारका ४९ घर जलेर नष्ट भएको थियो । ती घरहरु ३३ परिवारका थिए । घरमा भाडामा बस्ने थप २२ परिवारसहित कुल ५५ परिवार आगलागीबाट विस्थापित भएका छन् । अध्यक्ष लिम्बुका अनुसार कतिपय पीडित परिवारहरुलाई आगलागीबाट बचेको घरमा आश्रय लिएर बसेका छन् भने कतिपय आफन्तको घरमा र खेतबारीमा बसेका छन् ।

क्षतिको विवरण संलकन गरिदै

agalagi1

आगलागीबाट दोभान बजारमा कति क्षति भयो भन्ने विवरण आइसकेको छैन । क्षतिको विवरण हाल संकलन कार्य जारी रहेको गाउँपालिका अध्यक्ष लिम्बुले जानकारी दिए ।

क्षतिको विवरण संकलन गर्नको लागि गाउँपालिकाको बैठकले हिजो नै प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङ्देम्बे संयोजक रहेको ५ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले क्षतिको विवरण संलकन गरिरहेको अध्यक्ष लिम्बुले बताए । उनले भने,‘हामीले प्रमुख प्रशासकीयक अधिकृत संयोजक रहेको ५ सदस्यीय समिति बनाएका छौं । समितिले आगलागीबाट के कति क्षति भयो भनेर विवरण संकलन गरिरहेको छ । भरै ४, ५ बजेसम्म सबै विवरण आइसक्छ ।’