धरान: ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजार भएको भीषण आगलागीबाट ४९ घर जलेर नष्ट भएको छ ।

गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूका अनुसार ४९ घर जले पनि घरधनी भने ३३ जना व्यक्ति हुन् । ती ३३ घरधनीको परिवारसँगै त्यहाँ डेरा गरि बस्ने थप २२ परिवारसमेत गरि ५५ परिवारको आगलागीबाट विचल्ली भएको अध्यक्ष लिम्बूले जानकारी दिए । आगलागीबाट कति क्षति पुग्यो भने विवरण आउन सकेको छैन ।

गाउँपालिकाको बैठक बसिरहेको र क्षतिको विवरण संकलन गर्न एक समिति गठन गरिएको अध्यक्ष लिम्बूको भनाई छ । 'जम्मा ४९ घर जलेर नष्ट भएको छ । त्यो घर ३३ परिवारको हो । त्यहाँ डेरा गरि बस्ने थप ३३ परिवार पनि विस्थापित भएको विवरण आएको छ,'उनले भने,'क्षति कति भयो भनेर साँझसम्म विवरण आउछ । गाउँपालिका बैठकले क्षति विवरण संकलन गर्न समिति गठन गरेका छौं ।'

agolagi1

तमोर खोला र मेवा खोला बीचको किनारमा रहेको दोभान बजार सदरमुकाम फुङलिङ पछिको दोस्रो ठुलो बजार हो । आज बिहान करिब ९ बजेरित भोला पौडेलको कपडा पसलबाट आचानक आगलागी शुरु भएको बताइएको छ । गाउँपालिकाले तत्काल आगलागीबाट विस्थापित परिवारलाई बोलाएर खाना खुवाउन लागिपरेको अध्यक्ष लिम्बुले बताए । उनले भने,'बिहान ९ बजेतिर आगो शुरु भएकोले ५५ परिवारका मानिसहरु भोकै होलान् । उहाँहरु कहाँ छन्, बोलाएर खाना खुवाउन लागेका छौं । साँझमा बाँसको व्यवस्था गछौं ।'