धरान: धरान खानेपानी व्यवस्थापन बोर्डले आगामी बैशाख मसान्तसम्म खानेपानीको शुल्क तिरेमा बिलम्व शुल्क नलिने घोषणा गरेको छ ।

बोर्डको अध्यक्षसमेत रहेका धरानका मेयर तिलक राईले खानेपानी संस्थानलाई औपचारिकरुपमा बोर्डमा समायोजन भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन् । उनका अनुसार खानेपानीको न्युनतम शुल्क पनि १३० रुपैयामा समायोजन गरिएको छ । यस्तै, ३० हजार लिटरभन्दा माथि पानी खपत भएमा प्रतियुनिट ४० रुपैया लिइनेछ । यसअघि, बोर्डले न्युनतम शुल्क २२० रुपैया लिदै आएको थियो ।

यसैगरि, आगामी बैशाख मसान्तसम्म विगतको शुल्क तिरेमा बिलम्ब शुल्क वा जरिवाना नलिने निर्णय भएको छ । ‘खानेपानीको १० युनिटसम्मको न्युनतम शुल्क १३० रुपैया कायम गर्ने निर्णय भएको छ । १० हजार माथि ३० हजार लिटरसम्म ६ थप सय रुपैया लिने निर्णय भएको छ,’मेयर राईले भने,‘बैशाख मसान्तसम्म महशुल बुझाउनेलाई यसअघि कति बर्षदेखि नतिरेको हो, सबै बिलम्ब शुल्क नलिने निर्णय भएको छ । हामी नयाँ ढंगले शुरु गर्न चाहन्छौं ।’

मेयर राईले संस्थानको संरचना बोर्डमा समायोजन गरिएकोले अब एकद्धार प्रणालीबाट पानी वितरण हुने र सहज हुने पनि बताए । यसअघि संस्थानले आफ्नो संरचनालाई इन्टरकनेक्सन गर्न नदिदा ठेकेदार कम्पनीले निर्माण कार्य अघि बढाउन नसकेको र समस्या भएको मेयर राईले बताए । ठेकेदार कम्पनीले पनि काम शुरु गरिसकेको र म्याद सकिएको परामर्शदाता कम्पनीले पनि पुनः काम शुरु गरेको मेयर राईले जानकारी दिए । अहिले संस्थान मात्र बोर्डमा समायोजन गरिएको भन्दै मेयर राईले खानेपानी आयोजना परीक्षणकालमा रहेकोले जिम्मा लिने नलिनेबारे पछि निर्णय गरिने पनि बताए । अध्ययनको लागि गठन भएको विज्ञ टोलीले प्रतिवेदन बुझाएपछि यसबारेमा निर्णय लिइने उनको भनाई छ ।

मेयर राईले आयोजनाको चारकोशेस्थित जंगलमा रहेको ४ वटा ट्युबेलबाट ७० लाख लिटर र साविक संस्थानको ४ वटा ट्युबेलबाट ५३ लाख लिटर प्रतिदिन पानी उत्पादन भइरहेको पनि जानकारी दिए । यस्तै, धरान १७ स्थित उदय वन क्षेत्रमा रहेको आयोजनाको ट्युबेलबाट थप ३० लाख लिटर पानी उत्पादन भइरहेको उनको भनाई छ । बोर्डको कार्यकारी निर्देशक राजु पोख्रेलले आयोजनाले भुमिगत स्रोतबाट ९२ लाख लिटर प्रतिदिन पानी उत्पादन गर्ने लक्ष्य लिएको तर उत्पादन लक्ष्य भन्दा बढी १ लाख लिटर भइरहेको बताए ।

भिडियो :