विराटनगर: सर्वोच्च अदालतले साविक नेकपा एमाले ब्युँताए पछि मोरङमा पार्टी कार्यालयको बोर्ड परिवर्तन भएको छ ।

हिजो सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई खारेज गरेको थियो । साथै सर्वोच्चले एकीकरण अघिकै साविक एमाले र माओवादी केन्द्र कायम हुने फैसला गरेको थियो । यो फैसला पछि सबैभन्दा बढी साविक नेकपा एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता, कार्यकर्ताहरु खुशी भएका छन् ।

फैसलाको भोलीपल्ट आज सोमबार विराटनगर ११ पञ्चालीमा यसअघि राखिएको नेकपाको बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बोर्ड राखिएको हो । सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री भानुभक्त ढकालसहित ओली पक्षीय नेता, कार्यकर्ताहरुले एमालेको बोर्ड राखेका हुन् । एकता अघि यो एमालेकै कार्यालय थियो ।