धरान: आइतबार दिउँसो धरान १५ दशरथपथस्थित होटल धरान किचनमा नेकपा ओली समुहको धरान उपमहानगर कमिटीको विस्तार तथा सपथ ग्रहण कार्यक्रम भइरहेको थियो ।

धरान उपमहानगर कमिटीमा यसअघि अध्यक्षमा हर्कजङ एभेङ र सचिवमा ठाकुरबहादुर कार्की मनोनित भइसकेका थिए । आजको सपथ ग्रहण कार्यक्रममा जिल्ला सदस्य तथा धरान इञ्चार्ज मञ्जु भण्डारीले विस्तारित कमिटीको नामावली घोषणा गरिन् । उपाध्यक्षमा सविता चाम्लिङ राई र उपसचिवमा जोन राईसहित विस्तारित कमिटीको नामावली घोषणा गरेकी थिइन् ।

त्यसपछि नेकपा(ओली समुहका) केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले विस्तारित २५१ सदस्यीय कमिटीलाई सपथ खुवाएका थिए । सपथ खुवाइसके पछि नेताहरुको मन्तव्य कार्यक्रम चलिरहदा सर्वाेच्च अदालतले निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई वदर गर्ने र साविककै दुई राजनीतिक दल नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र) कायम रहने फैसला सुनायो ।

nekapa1

सपथ ग्रहण कार्यक्रम नसकिदै सर्वोच्चको फैसलाबारे नेताहरुले सचुना पाइसकेका थिए । तर, सपथ खादै गरेको कमिटी अब के होला भन्ने अन्योल कायम रह्यो । धरानकी उपमेयरसमेत रहेकी नेतृ एवं इञ्चार्ज मञ्जु भण्डारी सुवेदीले तत्कालको अवस्थामा नेकपा नै रहने र साविकको अवस्थामा गए पनि केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको कमिटी पनि यही हुने बताइन् । ‘हामी पुर्व एमाले त छदै छौं, अहिलेलाई नेकपा नै हो । तर साविकको नेकपा एमाले हुने हो भने पनि केपी शर्मा ओलीलाई अध्यक्ष मान्ने यो कमिटीलाई नै वैधानिकता दिएर जान्छौं,’उनले भनिन् ।