विराटनगरः नक्कली मोविल र ईनामेल बजारमा बिक्री गरेर कालोबजारी गर्ने एक जना विराटनगरबाट पक्राउ परेका छन् ।
प्रहरीले विराटनगर ११ जनपथ टोलका ७८ बर्षीय शंकरलाल खेम्कालाई कालोबजारी गरेको आरोपमा पक्राउ गरेको हो । उनलाई प्रहरीले आज बिहिबार मध्याह्न पौने १ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरंगले जानकारी दिएको छ । प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईका अनुसार उनले नक्कली मोविल उत्पादन गरेर सर्वो ब्राण्डको स्टीकर लगाएर बजारमा बिक्री गर्ने गरेका थिए । उनी आफैले सर्वोको स्टिकर छाप्ने पनि गरेको खुलेको छ । उनको साथबाट स्टिकर छाप्ने २१ वटा फर्मा पनि प्रहरीले वरामद गरेको छ ।
यस्तै, खेम्काले ईनामेलको पनि कालोबजारी गरिरहेको पाइएको छ । उनको गोदामबाट एशियन पेन्ट लेखिएको ईनामेल प्रहरीले वरामद गरेको प्रवक्ता डिएसपी राईले जानकारी दिए । प्रहरीका अनुसार खम्काले विगत २० बर्षदेखि गोदाम भाडामा लिएर बसेका थिए । त्यहाँबाट नक्कली मोविल उत्पादन गरी बिक्री वितरण गर्दै आएको सुचना पाएपछि मोरंग प्रहरीले आज छापा मारेको थियो ।
प्रहरीले उनको गोदामबाट २ सय लिट मोविलसहित १५ वटा ड्रम, २० लिटरको मोविलसहित ३ वटा ड्रम, १० लिटरको मोविलसहित २ वटा बाल्टी, १ लिटरको मोविलसहित १४ वटा बट्टा र २ सय लिटरको खाली ड्रम २४ वटा वरामद गरेको छ । यस्तै, सर्वोको १ सय वटा स्टिकर, सर्वोको स्टिकर छाप्ने २१ वटा फर्मा पनि वरामद गरेको प्रहरीले जनाएको छ । यसैगरि, लिटर मापन गर्ने सामान, १ लिटरवाला सर्वोको स्टिकर लगाएको खाली बोतल १ सय वट, स्टिकर नलगाएको १ लिटरको खाली वोतल २ सय वटा, एशियन पेन्ट लेखिएको ईनामेल ५ सय लिटरको ७ बट्टा, १ लिटरवाला २ वटा पनि वरामद भएको छ । पक्राउ परेका खेम्काबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।