धरान: सुनसरीको बराहक्षेत्र नगरपालिका ५ इन्द्रेणी टोलमा सञ्चालित बराह कृषि फर्ममा आज बिहानै आगलागी भएको छ ।
आगलागीमा परि ४ वटा गर्भिणी भैसी जलेर मृत्यु भएको छ भने २ वटा बाख्राको पाठा पनि जलेर मृत्यु भएको छ । यस्तै, फर्ममा रहेका अन्य थुप्रै भैसीहरु पनि जलेर घाइते भएको वडा सदस्य टेकबहादुर गौतमले जानकारी दिए । उनका अनुसार घाइते भएका भैसी मध्ये २ वटा गम्भीर अवस्थामा छ ।
फर्म सञ्चालक अमरबहादुर कार्की पनि जलेर गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । त्यहाँबाट रिफर भएर हाल विराटनगरस्थित म्याक्स हस्पिटलमा उपचार भइरहेको वडा सदस्य गौतमले जानकारी दिए । उनले भने,‘उहाँको ४० प्रतिशत जति शरीर जलेको भन्ने छ । म्याक्स हस्पिटलमा उपचार भइरहेको छ, त्यहाँ पनि भएन भने काठमाण्डौं लैजानुपर्ने हुन्छ ।’
कार्कीले विगत ३ बर्षदेखि फर्म सञ्चालन गरेका थिए । त्यहाँ उनले अधिकांश भैसी पालेका थिए । आगलागी भएपछि नियन्त्रणको प्रयास गर्दा कार्की आफै पनि आगोको चपेटामा परेका थिए । वडा सदस्य गौतमका अनुसार आगलागीमा परि १५ देखि २० लाख हाराहारीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागी बिहान करिब ४ बजेतिर भएको थियो ।