धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाण्डौं विश्वविद्यालय(केयु)बीच भएको गोप्य सहमतिको प्रतिष्ठानका चिकित्सक, कर्मचारीहरुले चर्को विरोध गरेका छन् ।

प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बस्नु अघि आज बिहान उपकुलपति कार्यालयअघि विरोध कार्यक्रम गर्दै उनीहरुले विरोध जनाएका हुन् । बुधबार शिक्षा मन्त्रालयमा प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र केयुका उपकुलपति डा.भोला थापाबीच एमओयु भएको थियो । त्यसमा तत्काल केयुले सम्बन्धन दिने र त्यसको प्राज्ञिक गतिविधि परीक्षा, निरीक्षणलगायत प्रतिवेदन वीपीले तयार गर्ने भन्ने उल्लेख भएको बताइएको छ । यो सहमति कानुन विपरीत भएकोले र आजको कार्यकारिणी समितिबाट अनुमोदन गर्ने तयारी भएकोले विरोध गरिएको चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा.विष्णु पोखरेलले बताए ।

शिक्षा मन्त्रालयले आफ्नो क्षेत्राधिकार बाहिर गएर स्वास्थ्य मन्त्रालय मातहतको प्रतिष्ठानलाई विधि र पद्दती विपरीत सहमति गराएको भन्दै उक्त सहमति कार्यकारिणी समितिबाट अनुमोदन गरिए आन्दोलन थाल्ने पोखरेलले चेतावनी दिए । यस्तै, सुन्दरहरैचामा प्रतिष्ठानको जग्गामा शिलान्यास भएको सरुवा रोग अस्पताललाई कुन सर्त र सम्झौतामा प्रदेश सरकारलाई जग्गा उपलब्ध गराएको हो, त्यसबारे पनि सार्वजनिक गर्न समाजले माग गरेको छ। यस्तै, आफ्नै लगानीमा भएको खानेपानीको संरचनालाई सञ्चालन गर्न मात्र बार्षिक लाखौं रुपैया खानेपानी संस्थानलाई बुझाइराखेकोबारे भन्दै समाजले विरोध जनाएको छ । 

ku