विराटनगरः प्रहरीले मोरङको जहदा गाउँपालिका १ स्थित एक घरबाट ठुलो परिमाणमा विभिन्न ब्राण्डका मदिरा वरामद गरेको छ ।
प्रहरीले मध्यराती साढे १ बजे भारततर्फ तस्करी गर्न लागेको मदिरा र सवारीसाधनसहित एक भारतीयलाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जहदा १ लंकाटोलका रमेश यादवको घरमा स्टोर गरेर राखेको अवस्थामा मदिरा फेला परेको थियो । ती मदिरालाई भारतको मटियारी ग्राम पञ्चायतका ३२ बर्षीय शिवलाल रायले भारततर्फ लैजान गाडीमा लोड गरीराखेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ । राय पक्राउ परे पनि यादव भने फरार भएका छन् । दुवैले मिलेर भारततर्फ मदिरा तस्करी गर्ने गरेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका अनुसार उमंग लेखिएको ३ सय लिमिग्रामको ५७ कार्टुन मदिरा, पलपल लेखिएको ३ सय मिलिग्रामको ४० कार्टुन, सोफिका लेखिएको ३ सय मिलिग्रामको ३७ कार्टुन, हरपल लेखिएको ३ सय मिलिग्रामको १५२ कार्टुन मदिरा वरामद भएको छ भने ३ सय मिलिग्रामको ११ सय ९५ बोतल खुला पनि वरामद भएको छ । नेपालमा उत्पादन हुने मदिरा सिलप्याक अवस्थामा फेला परेको थियो ।
यस्तै, एउटा भारतीय नम्बर प्लेट भएको एउटा कार, भारतीय नम्बर प्लेट भएको मोटरसाइकल २ वटा र नेपाली नम्बर प्लेट भएको २ वटा मोरटसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईले जानकारी दिए । नेपालसँगको सिमावर्ती भारतीय राज्य बिहारमा मदिरा उत्पादन, बिक्री वितरणमा तथा सेवनमा प्रतिबन्ध छ । जसको कारणले भारतीयहरु नेपाल आएर मदिरा पिउने गरेका छन् भने तस्करी गरेर पनि मदिरा भारत पुर्याउने गरिएको छ ।