धरान: विभिन्न युद्धहरुमा वीरगति प्राप्त गरेका गोर्खा सैनिकहरुको समाधि(चिहान)बाट संकलन गरेको माटो ल्याएर धरान उपमहानगरपालिका वडा नं २० स्थित माछामारामा निर्माणाधिन गोर्खा स्मृति पार्कमा राखिएको छ ।

पार्कका परिकल्पनाकार रमेश राईले विभिन्न मुलुकमा रहेको समाधिस्थलबाट संलकन गरेको माटोलाई ल्याएर सुरक्षित राखेका हुन् । भूपू गोर्खा सैनिकहरुले आफ्ना वीर पूर्खाहरुको समाधिबाट ल्याएको माटोलाई आत्मा भन्ने गरेका छन् । प्रथम तथा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका गोर्खा सैनिकहरुको समाधि विभिन्न मुलुकमा रहेको छ । आफ्ना वीर पुर्खाहरुको स्मृतिमा धरानमा निर्माण भइरहेको पार्कमा तिनै पुर्खाहरुको समाधिबाट आत्माकोरुपमा थोरै माटो ल्याएर राखिएको हो । 

भूपू गोर्खा सैनिक एवं पार्कका परिकल्पनाकार राईका अनुसार पार्कमा रहेको स्मारकको बेसमा ७ फिट मुनि तामाको ग्राग्री राखिएको छ । सोही गाग्रीमा विदेशबाट संकलन गरेर ल्याइएको पुर्खाहरुको आत्मारुपी माटोलाई राखिने गरिएको छ । ‘हाम्रा वीर योद्धाहरु जो विदेशमा समाधिस्थलमा रहनु भएको थियो, उहाँहरुको आत्मालाई ल्याएर यहाँ विधिवतरुपमा राखिएको छ,’राईले भने,‘जगको ७ फुट तल तामाको गाग्री राखिएको छुँ, त्यहाँ उहाँहरुको आत्मालाई राख्छौं । आफ्नै देशमा, आफ्नै माटोमा उहाँहरु शान्तिसँग बसुन् भनेर राखेको हो । ’

british-park5

वीर योद्धाहरुको समाधिबाट आत्माकोरुपमा एक चिम्टि माटो संकलन गरेर ल्याउने गरेको पनि उनले बताए । हालसम्म जर्मनी, सिंगापुर, हङकङलगायत गोर्खाहरुको समाधि रहेको मुलुकबाट संकलन गरिएको उनको भनाई छ । ‘फ्रान्समा चिहान भेटिएन, तर गोर्खाहरुको नाम राखेको भेटियो । त्यहाँ मुनिबाट पनि ल्याएर राखेका छौं,’उनले भने । बुधबार १६ जनाको समाधिबाट ल्याएको माटो राखिएको थियो । 

british-park1british-park2british-park3british-park4