विराटनगर: देशभरिका उद्योगी, व्यवसायीहरुको समस्या समाधान गर्न छुट्टै सेल गठन गर्ने नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । 

समृद्धिका लागि “राष्ट्रिय आर्थिक रुपान्तरण मार्गचित्र–२०३०” (भिजन पेपर) तयार गर्ने सन्दर्भमा बुधबार बिराटनगरको होटल एशियाटिकमा आयोजित कार्यक्रममा गोल्छाले यस्तो बताएका हुन् । उनले सदस्यहरुको बैंकिङ्ग सम्बन्धी समस्या, विमा सम्बन्धी समस्याहरुको समाधानका लागि अदालत जानुपूर्व सम्बन्धीत क्षेत्रसंग महासंघद्वारा गठित सेलले मेलमिलापको वातावरण तयार गर्ने बताए । “हामी चाहन्छौं, महासंघ सबैं उद्योगी व्यवसायीको शितल छहारी होस र म सम्मान प्राप्तिको लागि हैन, काम गर्न आएको हु“, काम गर्छु र सबैं व्यवसायीको समस्या समाधान गर्ने प्रयास गर्छु,” गोल्छाले भने ।

महासंघले समृद्धिका लागि निजी क्षेत्रको तर्फबाट २५० पेज भन्दा बढीको भिजन पेपर तयार गरेको छ । महासंघको आगामी चैत्र २७–२८ गते हुने साधारण सभामा विमोचन गरेर प्रधानमन्त्रीलाई हस्तान्तरण गरिने उक्त भिजन पेपरलाई अन्तिम छलफल गरिएको थियो । निजी क्षेत्रको तर्फबाट पहिलो पटक तयार गरिएको उक्त भिजन पेपरमा सन् २०३० सम्ममा–दोहोरो अंकको आर्थिक वृद्धिदरमार्फत नेपालमा १ सय अर्ब डलरको अर्थतन्त्र, दीगो उच्च आर्थिक वृद्धि मार्फत अतिरिक्त २२ लाख रोजगारी सृजना र लगानी अभिवृद्धि गरि व्यापारमा निर्यातको हिस्सा बढाई व्यापार घाटा कम गर्ने जस्ता भिजन समेटिएको छ । 

प्रदेश नं. १ र २ का उद्योग वाणिज्य संघका प्रतिनिधिहरु सहभागी उक्त कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका विष्णु बरालले समेत उद्योगी व्यवसायीहरुको समस्याहरुका बारेमा सामुहिक धारणालाई प्रस्तुत गरेका थिए । कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले कार्यक्रमका सन्दर्भमा जानकारी गराएका थिए भने महासंघका उपनिर्देशक गोकर्ण अवस्थीले कार्यक्रमको सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टीकाराज ढकाल, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार शाह, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी लगायतले आफ्नो धारणा राखेका थिए ।