धरान: मुख्यमन्त्री शेरधन राईले शनिबार धरान गल्फ कोर्षको अवलोकन गरेका छन् ।

चार दिने धरान ओपन गल्फ प्रतियोगिता अन्तर्गत प्रो एम स्पर्धाको विजेताहरुलाई पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिकोरुपमा सहभागी मुख्यमन्त्री राईले आयोजक धरान गल्फ क्लबको आग्रहमा कोर्षको अवलोकन गरेका हुन् । बेलायतमा रहेका खेलप्रेमी धरानेहरुको सहयोगमा निर्माण भएको नयाँ १० नम्बरको ग्रीन मुख्यमन्त्री राईलाई अवलोकन गराइएको हो । उक्त ग्रीन बेलायतमा रहेका धरानेहरुको सहयोगमा निर्माण भएको थियो । 

golf-awalokan1

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको गल्फ कोर्ष १ नम्बर प्रदेशको एक मात्र कोर्ष हो । यो गल्फ कोर्षको संरक्षण तथा सञ्चालनमा प्रदेश सरकारको बिशेष चासो र सहयोग रहनुपर्ने यहाँका गल्फ खेलाडीहरुले आग्रह गर्दै आइरहेका छन् । धरान गल्फ क्लब, धरान उपमहानगरका मेयर, गल्फ खेलाडीहरुको बिशेष आग्रहमा मुख्यमन्त्री राईले गल्फ कोर्षको अवलोकन गरेका हुन् । ठुलो क्षेत्रफलमा फैलिएको १८ होलको गल्फ कोर्ष अवलोकन गराउन आयोजकले सफारीको व्यवस्था गरेको थियो । मुख्यमन्त्री राईले ठाउँ ठाउँमा सफारीबाट उत्रिएर ग्रीनको अवलोकन पनि गरे ।

'सबै विधाको खेललाई उच्च प्राथमिकता'

sherdharan

मुख्यमन्त्री राईले प्रदेश सरकारले सबै विधाको खेलहरुलाई उच्च प्राथमिकता राखेको बताए । पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले धरानको गल्फ कोर्ष प्रदेशकै गहनाकोरुपमा रहेको पनि बताए । मुख्यमन्त्री राईले धरान गल्फ कोर्ष संरक्षण र सञ्चालनमा प्रदेश सरकारले सतप्रतिशत सहयोग गर्ने पनि प्रतिवद्धता जनाएका थिए ।

3 2

गल्फ क्लब र खेलाडीहरुकोतर्फबाट धरानका मेयर तिलक राईले कोर्ष संरक्षण र सञ्चालनको लागि सहयोग गर्न आग्रह गरेपछि उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘कोर्षको संरक्षण र सञ्चालनका बारेमा गरिएको आग्रहमा प्रदेश सरकारबाट सत प्रतिशत साथ रहने कुरा यहाँहरुको बीचमा राख्न चाहन्छु,’मुख्यमन्त्री राईले भने,‘प्रदेश सरकारले सबै विधाको खेलहरुलाई उच्च प्राथमिकतामा राखेको छ । यो गल्फ खेललाई उतिकै अथवा त्यसभन्दा बढी प्राथमिकतामा राखेर अगाडि बढ्नेछौं ।’

safari-golf2

safari-golf1