धरान: धरान उपमहानगरपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको अभिलेख संकलन गर्नको लागि फारम वितरण गर्ने तयारी गरेको छ ।

नगर प्रमुख तिलक राईको अध्यक्षतामा गठित भूमी सम्बन्धी समस्या समाधान सहजीकरण समितिको आज (सोमबार) बसेको बैठकले वडा वडामा फारम वितरण गर्ने तयारी गरेको हो । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्न फारम वितरण गर्ने भएको छ । धरानको २० वटै वडामा कर्मचारी व्यवस्थापन गरिएको जनाएको छ । 

सहजीकरण समितिको पहिलो बैठकले आज (सोमबार)देखि शनिबारसम्म प्रचार प्रसार गर्ने निर्णय गरेको छ । विशेष गरेर धरान उपमहानगरको सबैभन्दा बढी सुकुम्बासीको बसोबास रहेका वडाहरु ५, ११, १३, १५, १६ र १७ मा कार्यक्रम गरी प्रचार प्रसार गर्ने भएको छ । यसको लागि सहजिकरण समितिका सदस्यहरुसँग समन्वय गरी प्रचार प्रसार सामग्री तयार गर्ने निर्णय गरिएको लगत संकलन इकाई प्रमुख बेद प्रसाद सापकोटाले जानकारी दिए । 

उनका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोभिडको संक्रमण तथा भिडभाड व्यवस्थापन गरी सकेसम्म घरघरमा गएर फारम भराउने कार्यका लागि योजना बनाउन सबै वडाहरुलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ । वैशाख १२ गते आईतबारदेखि फारम भराउने कार्य सुरुवात गरिने बैठकले निर्णय गरेको छ । सहजिकरण समितिको अर्को बैठक वैशाख ११ गते शनिबार बिहान ८ बजे बस्ने निर्णय समेत गरिएको छ । 

सहजिकरण समितिमा नगर प्रमुख तिलक संयोजक, उपप्रमुख मञ्जु भण्डारी उपसंयोजक, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल सदस्य सचिव छन् भने राजनीतिक दलकोतर्फबाट सदस्यहरुमा नेकपा एमालेका राजमणी निरौला, नेकपा एमालेका प्रतिनिधि हर्कजङ एभेङ, माओवादी केन्द्रका प्रतिनिधि सुदर्शन श्रेष्ठ, नेपाली कांग्रेसका प्रतिनिधि नरसिंह राई, जनता समाजवादी पार्टीका प्रतिनिधि ताजुब लिम्बु, कार्यपालिका सदस्य हिरादेवी राई, कार्यपालिका सदस्य कल्पना थापा मगर, सुबास राई र पञ्चकला राई सदस्य रहेका छन् ।