धरान: कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले प्रमुख सहरहरुमा विद्यालय बन्द गर्ने निर्णय गरेपनि आज धरानका अधिकांश स्कुलहरु भने खुलेका छन् । 

सरकारले निर्णय गरेपनि स्थानीय सरकारले ठोस निर्णय वा निर्देशन नदिइसकेको हुनाले आज धरानका स्कुलहरु सञ्चालनमा आएको हो । मन्त्रीपरिषदको हिजो सोमबार बसेको बैठकले धरान, इटहरीलगायत देशभरका सहरहरुमा बैशाख महिनाभरि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । कोरोनाको नयाँ भेरियन्ट देखा परेको र स्कुलका बालबालिकाहरु उच्च जोखिममा भएकोले विद्यालय बन्द गर्ने निष्कर्षमा सरकार पुगेको हो । 

सुनसरीको सदरमुकाम इनरुवामा यसअघि नै विद्यार्थीहरुमा संक्रमण देखिन थालेपछि अनिश्चितकालको लागि विद्यालयहरु बन्द भइसकेको छ । सरकारले मोरङ जिल्लालाई कोरोना संक्रमण अतिप्रभावित जिल्लाको सुचीमा राखेको छ । पछिल्लो समय मोरङलगायत प्रदेश १ का विभिन्न जिल्लामा संक्रमण दर पनि बढ्दै गइरहेको छ । जसले गर्दा धरान, इटहरीलगायत क्षेत्रमा विद्यालय बन्द गर्नुपर्ने आवाज पनि उठिरहेको छ । 

निजी विद्यालयहरुको एरिया कोअर्डिनेसन कमिटी(एसिसि) संयोजक राजेन्द्र गुरुङ स्थानीय सरकारसँग आवश्यक छलफल गरेर निर्णय लिइने बताए । आइतबार नै मेयर तिलक राईसँग छलफल गरेर जेठ पहिलो हप्तासम्म परीक्षा सक्ने भन्ने समझदारी गरेपनि हिजो सरकारले स्कुल बन्द गर्ने निर्णय गरेपछि पुनः छलफल आवश्यक भएको उनले बताए । ‘आज स्कुलहरु लागेकै छ । लगाउने कि नलगाउने भनेर सल्लाह गछौं, स्थानीय सरकारले के भन्छ,’उनले भने ।

शिक्षा महाशाखा प्रमुख रत्न कटवालले सरकारको निर्णयलाई कार्यान्वयन गर्ने बिषयमा आज दिउँसो ३ बजे सरोकारवालाहरुसँग बैठक बस्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार स्कुलहरुका प्रअ, प्याब्सन, एन प्याब्सन, एसिसिका प्रतिनिधिहरुसँग बैठक हुनेछ । ‘मेयरको नेतृत्वमा बैठक हुन्छ । सरकारको निर्णयलाई कसरी कार्यान्वयन गर्ने भनेर छलफल हुन्छ,’उनले भने ।