धरान: केही दिनदेखि पेट्रोल अभाव भइरहेको धरानमा हिजो राती ४४ हजार लिटर आएको छ । धरानका विभिन्न ६ वटा पेट्रोल पम्पहरुमा उक्त मात्राको पेट्रोल आएको हो । 

राती पेट्रोल आएको हुनाले आज बिहानैदेखि पम्पहरुले पेट्रोल वितरण गरिरहेका छन् । पम्पहरुमा पेट्रोल तथा डिजेल हाल्ने सवारीसाधानहरुको घुँइचो छ । पेट्रोलियम डिलर एशोसिएशनका केन्द्रीय सदस्य तथा अरुण पेट्रोल पम्पका सञ्चालक गोपाल श्रेष्ठका अनुसार सामान्य अवस्थामा पनि दैनिक कम्तीमा ३५ हजार लिटर पेट्रोल धरानमा खपत भइरहेको थियो । हिजो आएको पेट्रोल पर्याप्त हुने भएपनि केही दिनदेखि अभाव भोगेको कारण धेरैले घरमा स्टक राख्ने गरेपछि अझै अभाव हुनसक्ने उनले बताए । 'अब दैनिकरुपमा नै पेट्रोल आउछ, तर हिजो अस्ति अभाव भएकोले धेरैले घरमा पनि स्टक गर्न थालेका छन्,' श्रेष्ठले भने,'यसले गर्दा नपुग्न सक्छ, र अझै एक दुई दिनसम्म यस्तै अवस्था रहन्छ ।' 

petrol1

व्यवसायी श्रेष्ठले अब दैनिकरुपमा नै पेट्रोल आउने भएकोले घरमा स्टक नगर्न पनि सर्वसाधारण उपभोक्तालाई आग्रह गरेका छन् । साथै, अहिलेको पेट्रोल युरो ६ मापदण्डको भएकोले विगतको भन्दा अति प्रज्वलनशील पनि छ । तसर्थ, घरमा स्टक गरेर पेट्रोल नराख्न उनले आग्रह गरेका छन् ।  'यो युरो ६ मापदण्डको तेल हो, यसले प्रदुषण कम हुन्छ,'उनले भने,'तर, आगलागी जोखिम ज्यादै धेरै हुन्छ । त्यसैले घरमा पेट्रोल नराख्नुस, अब आइरन्छ ।' केही दिनअघि नेपाल आयल निगमले अनलाइन कारोबार शुरु गर्न नयाँ सिस्टम लाग गर्दा ढिलाई भएकोले व्यवसायीले समयमा नै पेट्रोल ल्याउन नपाएको र अभाव देखिएको व्यवसायीहरुको भनाई छ ।