धरान: जर्बजस्ती करणीको अभियोगमा पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र यादवलाई ५ दिनको म्याद थप भएको छ । 

सुनसरी जिल्ला अदालतबाट अनुसन्धनको लागि यादवलाई ५ दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । यादवबारे थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । डिएसपी ज्ञानेन्द्र बस्नेतले भने, अदालतबाट ५ दिनको म्याद थप भएको छ । अनुसन्धान जारी छ । 

यादवलाई प्रहरीले हिजो बुधबार साँझ धरान ४ स्थित डुकु होटलबाट जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको थियो । उनले संखुवासभा घर भई इटहरीमा आमा र दिदीसँग बस्दै आएकी १७ बर्षीया नाबालिगलाई जागिर दिने प्रलोभनमा धरान ल्याएर जर्बजस्ती करणी गरेका थिए । पीडितलाई समेत वियर खुवाएर यादवले करणी गरेको खुलेको छ । पीडितकी आमा र दिदी राती नै धरान आएर जर्बजस्ती करणीमा जाहेरी दिएकी थिइन् । 

क्षमाप्रार्थी: जिल्ला प्रहरी कार्यालय सुनसरीले घटना विवरणसहित पठाएको फोटो अर्कै परेको भन्ने जानकारी दिएकोले सच्याएर पुनः प्रकाशित गरेका छौं । यसबाट पर्न गएको असरप्रति क्षमाप्रर्थी छौं । सम्पादक