धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र सञ्चालित मेस तथा क्यान्टिनविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । 

प्रशासन उजुरी परेपछि प्रतिष्ठानको  मेस र क्यान्टिनहरुमा सरकारी निकायले अनुगमन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवाका प्रमुख काशीनाथ घिमिरेको नेतृत्वमा बिहिबार मेसको अनुगमन गरिएको हो । धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार जिल्ला प्रशासनमा मेस तथा क्यान्टिनविरुद्ध उजुरी परेको थियो । खानामा सोडा हाल्ने, रंग हाल्ने, खाना गुणस्तरीय नभएको लगायतको उजुरीको आधारमा अनुगमन भएको उनले जानकारी दिए । 

अनुगमनको क्रममा म्याद गुज्रिएको सामान, म्याद र मुल्य सुची स्पष्ट नभएको सामानहरु नष्ट गरिएको अनुगमन टोलीले जानकारी दिएको छ । साथै, मेसलाई सुधार गर्न र गुणस्तरीय खाना खुवाउन सुझाव तथा निर्देशन दिएको पनि अधिकृत सापकोटाले जानकारी दिए ।