धरान: प्रदेश १ मा पनि कोरोना संक्रमणको दर तीब्रगतिमा बढ्दै गएपछि मुख्यमन्त्री शेरधन राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिडको उपचार तयारीबारे आवश्यक जानकारी लिएका छन् ।
मुख्यमन्त्री राईले सोमबार दिउँसो प्रतिष्ठानमा अनुगमनको क्रममा पदाधिकारीहरुसँग आवश्यक जानकारी लिएका हुन् । मुख्यमन्त्री राईले विगतमा जस्तो कोभिडको महामारी हुँदा अक्सिजनको कमी हुन नदिन आवश्यक तयारीमा जुट्न बिशेष चासो दिन पदाधिकारीहरुलाई निर्देशन पनि दिएका छन् । साथै उनले पदाधिकारीहरुबाट समस्याबारे जानकारी लिइसके पछि समाधान गर्न केन्द्र सरकारसँग पनि पहल गर्ने आश्वासन समेत दिएका छन् ।
प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.प्रमोद वरालका अनुसार मुख्यमन्त्री राईले यसपाली अक्सिजनको कमी नहोस् भन्नेमा बिषेश जोडदिएका थिए । ‘मुख्यमन्त्रीको बिशेष जोड अक्सिजनमा कमी नहोस् भन्नेमा थियो । यहाँ सिरियस विरामी आउछन्, अहिलेदेखि नै तयारी गर्नुस् भन्नुभएको छ,’डा.वरालले भने,‘कोभिडको तयारी के छ ? प्रदेश सरकार र केन्द्रले के गरिदिनुपर्ने छ भनेर जानकारी पनि लिनुभएको छ ।’
डा. वरालका अनुसार गत बर्ष कोभिड महामारीको पहिलो लहरको बेला प्रतिष्ठानको कोभिड अस्पतलमा पर्याप्त अक्सिजन पाइपलाइन थिएन । सबै बेडमा सिलिण्डरबाट नै संक्रमितहरुलाई अक्सिजन दिनुपरेको थियो । यसले संक्रमितहरुलाई धेरै समस्या भएको थियो । यसपाली भने कोभिड अस्पतालको सबै बेडमा अक्सिजन प्लान्टदेखि सिधै पाइपालाइन जोडेर सप्लाई भइसकेकोले गत बर्षको जस्तो समस्या नहुने डा.वरालले बताए । उनले भने,‘सिरियस विरामी आउने भएकोले अक्सिजनको खपत धेरै हुनसक्छ, त्यसैले ब्याकअपमा सिलिण्डर पनि राख्नुपर्छ भनेर तयारी गरिरहेका छौं । यसपाली सहज नै हुने आशा छ ।’
पदाधिकारीहरुले गत बर्षभन्दा अहिले कोभिडको उपचारबारे धेरै अनुभव हासिल भइसकेकोले उपचार व्यवस्थापनमा सहज हुने बताएका थिए । तर, जनशक्ति अभाव चुनौती रहेकोले आवश्यक व्यवस्थापन गरिदिन आग्रह गरेका थ्एि । पिसिआर परीक्षण, जोखिम भत्ताको व्यवस्था चाडै गरे फ्रन्टलाइनरहरुलाई प्रोत्साहन हुने पदाधिकारीहरुको भनाई थियो । ‘हामीले कोभिड अस्पताल र जनरल अस्प्ताल दुवै तिरको सेवा बन्द नगर्ने गरि जनशक्ति परिचालन गर्नुपर्ने कुरा राख्यौं । एमबिबिएस, बिडिएसका विद्यार्थीहरु विरामीसँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने भएकोले उनीहरुलाई पनि खोप दिने व्यवस्था गर्नुपर्ने कुरा राख्यौं,’डा.वरालले भने,‘जनतालाई पनि अत्यावश्यक भयो भने मात्र अस्पतालमा आउन भनेर सुसुचित गरिदिन आग्रह गरेका छौं । मुख्यमन्त्री ज्युले समस्या केन्द्रसम्म पुर्याउछु भन्नु भएको छ ।’ छलफलमा शिक्षाध्यक्ष डा.गुरु खनाल, अस्पताल निर्देशक डा.गौरीशंकर साह, कोभिड अस्पताल प्रमुख डा.ज्ञानेन्द्र मल्ललगायत थिए ।