धरान: कोरोना संक्रमण दैनिकरुपमा वृद्धि हुदै गएपछि सुनसरीमा ३ दिन भित्र सबै स्थानीय तहहरुमा आइसोलेसन सेन्टरहरु तयार गरेर राख्ने निर्णय भएको छ ।
आज (सोमबार) सुनसरीका प्रजिअ उमेशकुमार ढकालको अध्यक्षतामा जिल्ला समन्वय प्रमुख तथा स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको उपस्थितिमा भएको डिसिसिएमसि बैठकले यस्तो निर्णय गरेको हो । तीन दिनभित्र सबै स्थानीय तहलाई आइसोलेसन सेन्टरहरु तयार राख्न अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।
सोही बैठकले संक्रमण विकराल स्थिति आउन नदिन जिल्लाको सम्पुर्ण सरकारी तथा निजी विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र इत्यादी भोली मंगलबारदेखि पुर्णरुपमा बन्द गराउने निर्णय गरेको छ । साथै, शिक्षा मन्त्रालयको निर्देशन अनुसार बैकल्पिक शिक्षण सिकाई प्रविधि प्रयोग गरि सञ्चालनमा गर्न भने पाउने बैठकको निर्णय छ ।
जिल्लामा रहेका ठुला उद्योग तथा कारखानाहरुले आफ्नो कामदार तथा कर्मचारीहरुको कम्तीमा १० प्रतिशतको संख्या रहनसक्ने अनिवार्य क्वारेन्टाइन वा आइसोलेसन कक्ष स्थापना गर्ने र त्यसको अनुगमन स्थानीय प्रहरीले गर्ने पनि निर्णय भएको छ । यस्तै, जिल्लामा सञ्चालनमा रहेको अक्सिजन उद्योगहरुको उत्पादन, बिक्री र माग एवं आपूर्तिको स्थिति जिल्ला प्रशासन कार्यालयबाट अनुगमन गर्ने र नजिकमा रहेका नेपाल प्रहरीका युनिटहरुले नियमित रिपोर्टिङ गर्ने पनि बैठकको निर्णय रहेको छ ।
यसैगरि, जिल्ला भित्रका सरकारी, गैर सरकारी, बित्तिय संस्था, बैंक आदिमा भिडभाड हुन नदिन दुरी निर्धारण, स्वास्थ्य सुरक्षा मापदण्ड पालनाका साथै सर्वसाधारणलाई मर्का नपर्ने गरी आलोपालो सेवा उपलब्ध गराउने व्यवस्था गर्ने पनि निर्णय भएको छ । सार्वजनिक यातायात, मुख्य बजार तथा राजमार्गमा अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत संयोजक रहेको अनुगमन समिति गठन गरेर तत्काल काम प्रारम्भ गर्ने पनि निर्णय भएको छ ।