धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तीन जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी भएको छ । 

इन्टरनेट सेवामा भएको भ्रष्टचार ढाकछोप गरेको, इन्टरनेट सेवामा सुधार हुन नसकेको भन्दै आन्दोलित जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले आज तीन जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो । जेआरहरुले उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा.गुरु खनाल र रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । इन्टरनेट संघर्ष समितिले यसअघि प्रतिष्ठानको कम्प्युटर शाखा र सुविसुको कार्यालयमा तालाबन्दी गर्दै माग पुरा गर्न ४८ घण्टे अल्टिमेटम पनि दिएको थियो । उक्त समयावधिभित्र माग पुरा गर्न तत्परता नदेखाएको कारण तालाबन्दीमा उत्रनु बाध्य भएको जेआरका प्रवक्ता डा.पदम नेपालीले जानकारी दिए । 

bpkihs-tala

जेआरहरुको आन्दोलनलाई फ्याकल्टी वेल्फेयर सोसाइटीले पनि ऐक्यवद्धता जनाएको छ । इन्टरनेट सेवा सुधार सम्बन्धी अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको ३ महिना बितिसक्दा पनि कार्यान्वयन नभएपछि प्रतिष्ठानको फ्याकल्टी, जुनियर रेसिडेन्टहरुले निरन्तर आन्दोलन गर्दै आइरहेका छन् । कार्यदलले बुझाएको प्रतिवेदनमा सुविसुसँगको सम्झौताले प्रतिष्ठानलाई मासिक लाखौं रुपैया नोक्सानी भइरहेको, महंगोमा इन्टरनेट सेवा खरिद गर्नुपरिरेको, सेवा गुणस्तरीय नभएको निष्कर्ष निकाल्दै सम्झौता रद्द गरेर एउटा मात्र कम्पनीको एकाधिकार तोड्न सुझाव दिएको थियो ।