धरान: धरानमा आज साँझ थप २५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । 

पिसिआर पोजेटिभ आएकाहरुमा धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदी पनि छिन् । उनको शुक्रबार नै एन्टिजेन परीक्षण गर्दा पोजेटिभ रिपार्ट आएको थियो । एन्टिजेन पोजेटिभ आएकाहरुको पिसिआर पोजेटिभ आउने सम्भावना उच्च हुन्छ । शरीरमा कोभिड १९ को भाइरस भए नभएको सिधै पत्ता लगाउने परीक्षण विधि एन्टिजेन हो । यो पिसिआर परीक्षणकै हाराहारीमा भरपर्दो मानिन्छ । यसको रिपोर्ट आधाघण्टा भित्रै आउने पनि स्वास्थ्यकर्मीहरु बताउँछन् ।

पिसिआर पोजेटिभ आएकाहरुमा अधिकांश वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरतहरु भएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । उनका अनुसार आज थप ३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । उनीहरुमध्ये १० जनाको रिपोर्ट पनि पोजेटिभ आएको मेहताले बताए । कोभिड १९ को दोस्रो लहर शुरु भएसँगै आजसम्म धरानमा पिसिआर र एन्टिजेन पोजेटिभ आउनेको संख्या २३५ पुगेको पनि मेहताले जानकारी दिए ।

उपमहानगरपालिकाले पुरानो अस्पतालमा एन्टिजेन परीक्षण गर्दै आएकोमा अब स्थान परिवर्तन गरेको पनि जनाएको छ । अबदेखि धरान ८ स्थित सभागृह परिसरमा एन्टिजेन परीक्षण गरिने मेहताले बताए । पुरानो अस्पतालमा खोप लगाउन र उपचारको लागि विरामीहरु आउजाउ गर्ने भएकोले स्थान परिवर्तन गरिएको उनले बताए ।