इटहरी: इटहरी उपमहानगरले सर्जिकल मास्क पाँच रुपियाँ भन्दा बढीमा नवेच्न निर्देशन दिएको छ । 

आज विहान वजार अनुगमनका क्रममा दुईदेखि तीन रुपियाँ खरिद मूल्य रहेको मास्क पाँच रुपियाँ भन्दा बढि मूल्यमा बिक्री नगर्न निर्देशन दिइएको हो । जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी, प्रहरी र संचारकर्मीसहितको टोलीले अनुगमन गर्दा १० रुपियाँमा बेच्ने गरेको पाइएको थियो । अनुगमनका क्रममा मास्क खरिद मूल्य भन्दा पाँच गुणासम्म बढिमा वेच्ने गरेको पाइएको इटहरी उपमहानगर राजश्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले जानकारी दिए । 

पाँच वटा औषधी पसलको अनुगमन गर्दा चार वटाले त सर्जिकल माक्स खरिद गरेको विल समेत नदेखाएको अनुगमन टोलीले जनाएको छ । टोलीका अनुसार ९० रुपियाँ खरिद मूल्य रहेको सेनिटाइजर १ सय ६५ रुपियाँमा वेचेको पाइएको छ । राजश्व प्रशासन शाखा प्रमुख भट्टराईले तत्काललाई बढि मुनाफा राखेर नबेच्न सचेत गराइएको बताए । यस्तै, सर्जिकल माक्स पाँच रुपियाँ भन्दा बढिमा नवेच्न निर्देशन दिइएको उनले बताए । निर्देशन पालना गराउन थप कडाइका साथ अघि वढने भटटराईले बताए । 

mask

खरिद मूल्य र अधिकतम विक्री मूल्यको अन्तर धेरै पाइएकाले अव उद्योगमै पुगेर समेत अनुगमन गरिने उनले बताए । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले २ रुपियाँ खरिद मूल्य परेको माक्स १० रुपियाँमा वेच्न नमिल्ने बताए । उनले माक्स र सेनिटाइजरमा बढि मूनाफा राखेको पाइएकाले यसलाई नियन्त्रण गर्न उपमहानगर, जिल्ला प्रशासन र राजश्व कार्यालयको वैठक वसेर तीन दिनभित्रमा रिजल्ट आउने गरि एक्सन गरिने बताए । 

आजै इटहरी उपमहानगरले हटियाँ लाइनका थोक सब्जि पसलहरुको समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा हटिया लाइनका भाँडा पसलहरु पनि खुल्ला रहेका पाइएको थियो । अनुगमन टोली पुगेपछि हतार हतार वन्द गरेका देखिन्थे । इटहरी उपमहानगरपालिकाले निरन्तर वजार अनुगमन गरिरहेको छ ।