धरान:  विभिन्न मागहरु लिएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारीहरु आन्दोलित भएका छन् । 

कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा आन्दोलित कर्मचारीहरुले चार जना पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् । उनीहरुले मेट्रोनको कार्यलयमा पनि तालाबन्दी गरेका छन् । कोभिड १९ को भत्ता पारदर्शी गरेर कार्य अनुपातमा सम्पुर्णलाई समानरुपमा वितरण गर्नुपर्ने आन्दोलित कर्मचारीहरुको प्रमुख माग छ ।

tala-bp1

यस्तै, गत आर्थिक बर्षमा वृद्धि भएको २० प्रतिशत तलब यथासिघ्र एकमुष्ठले उपलब्ध गराउनुपर्ने, कर्मचारीहरुको आन्तरिक फायल बढुवा विज्ञापन खोल्नुपर्ने, ज्यालादारी कर्मचारीहरुलाई करार तथा फरफरमेन्स करार गर्नुपर्ने र कर्मचारी कल्याण समाजको निर्वाचन तत्काल गर्नपर्ने माग राखेर कर्मचारी तदर्थ समिति आन्दोलनमा उत्रिएको हो । 
bp-tala

वैशाख १४ गते नै पाँच बुँदे माग राखेर ज्ञापन पत्र बुझाए पनि वेवास्ता गरेकोले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको तदर्थ समितिका संयोजक राजन कोइरालाले बताए । कोभिड उपचारमा खटिएका जुनियर कर्मचारीहरुले जोखिम भत्ता असमान तरिकाले वितरण गरिएको, कतिपयले गत बर्षकै भत्ता नपाएको, कोभिड अस्पतलामा खटिएकाहरुलाई क्वारेन्टिनमा राख्ने व्यवस्था नगरि घरमा नै पठाउने गरेको भन्दै आन्दोलित कर्मचारीहरु आक्रोशित छन् ।