विराटनगर: कोरोनाको उपचारमा प्रयोग हुने रेमडिसिभर भनेर अर्कै औषधी बिक्री गरी ठगी गर्ने दुई जना पक्राउ परेका छन् । 

मोरङ प्रहरीले शुक्रबार दिउँसो विराटनगर महानगरपालिका ४ स्थित साथी मेडिकलका सञ्चालक २६ बर्षीय सोनु आलम पक्राउ परेका हुन् । उनले ९० रुपैया पर्ने स्टासेफ नामक इन्जेक्सनमा रेमडिसिभर औषधीको नक्कली स्टिकर टाँसेर ७ हजारदेखि २५ हजार रुपैयासम्म बिक्री गर्ने गरेको पाइएको छ । उनको मेडिकलबाट स्टासेफ नामक औषधी ४ बट्टा (सिसी)  र रेमडिसिभर नामक औषधी १ बट्टा (सिसी) पनि प्रहरीले वरामद गरेको थियो । आलमलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईले जानकारी दिए । 

नक्कली रेमडिसिभर बिक्रीमा संलग्न भएको आरोपमा प्रहरीले आलमका सहयोगी विराटनगर १६ का २३ बर्षीय श्रवण यादवलाई पनि पक्राउ गरेको छ । उनीहरुले रेमडिसिभरको स्टीकर भारतको पटनाबाट आयात गर्ने गरेको खुलेको छ । श्रवण यसअघि पनि २०७७ कार्तिक २५ गते विराटनगर बसपार्क नजिक रातो भाले होटलमा १० ग्राम ब्राउन सुगर वरामद भएको घटनामा फरार थिए । उनलाई पनि विराटनगर १६ रानीस्थित आफ्नै घरबाट पक्राउ गरी लागु औषध र कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको मोरङ प्रहरीले जनाएको छ ।