धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको चार जना पदाधिकारी र मेट्रोनको कार्यलयमा गरिएको तालाबन्दीप्रति प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले एक अपिल जारी गर्दै तालाबन्दी भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । उनले कोरोना महामारीको दोस्रो लहर तीब्ररुपमा वृद्धि भइरहेको कारण भेला, सभा, गोष्ठीलगात गतिविधि नगर्न परिपत्र गरिएको स्मरण गराउदै कर्मचारी कल्याण तदर्थ समितिले बैशाख ४ गते विज्ञप्तीमार्फत माग राखेको र हिजो शुक्रबार विना पुर्वसुचना घेराउ तथा तालाबन्दी गराउने कार्यमा केही कर्मचारीहरु उत्तेजित भइ लागेको पनि उल्लेख गरेका छन् ।

उपकुलपति डा.गिरीले कर्मचारीले राखेको माग सम्बन्धमा प्रतिष्ठान सदैव सकरात्मक रहेको र विज्ञप्तीमा उल्लेखित अधिकांश मागहरु आंशिकरुपमा सम्बोधन भइसकेको पनि जनाएका छन् । साथै, केही मागहरु प्रक्रियागतरुपमा रहेको पनि अपिलमा खुलाइएको छ । हाल प्रतिकुल अवस्था रहेको कारण, सहज परिस्थिति सृर्जना भएसँगै उक्त मागहरु प्रतिष्ठानले क्रमशः पुरा गर्दै जाने पनि गिरीले प्रतिवद्धता जनाएका छन् ।

जिल्ला प्रशासनले बैशाख ३१ गतेसम्म अत्यावश्यकबाहेक सार्वजनिक भेला तथा हिडडुल गर्नमा समेत निषेध गरेको अवस्थामा त्यस्तो गतिविधि नगर्न भन्दै उपकुलपति डा.गिरीले कानुन वमोजिम कारबाही हुने चेतावनी पनि दिएका छन् । 

bp