धरान : बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको कार्यकक्षमा आन्दोलनरत कर्मचारीहरुले लगाएको ताला प्रहरीले तोडेको छ । 

सुनसरीका सिडियो उमेश कुमार ढकालको निर्देशनमा आज बिहान धरान प्रहरीले ताला तोडेको हो । सरकारले जारी गरेको जनस्वास्थ मापदण्ड विपरित भेला हुने कार्य भइरहेको, कोभिड महामारीको बेला र सुनसरी प्रशासनले लकडाउन गरेको बेला ताला लगायेको भन्दै ताला तोडेको हो । कोभिड उपचारमा खटिएका कर्मचारीहरुले जोखिम भत्ता हालसम्म नपाएको, कोभिडमा खटिएका कर्मचारीहरुलाई क्वारेन्टाइन र खानाको ब्यवस्था नगरेकोलगायत विभिन्न माग राखेर शुक्रबार तालाबन्दी गरेका थिए । 

bp-an

 कर्मचारीहरुले उपकुलपति, रेक्टर, अस्पताल निर्देशक, रजिस्ट्रार र मेट्रोनको कार्यालयमा ताला लगायेका थिए । ताला तोडिए पछि आन्दोलनकारी कर्मचारीहरु आक्रोशित भएका छन् । उनीहरूले उपकुलपति कार्यालय अघि भेला भएर धर्नामा बसेका छन् भने नाराबाजी पनि गरिरहेका छन् । कर्मचारी कल्याण तदर्थ समितिका उपाध्यक्ष किरण भट्टराईले पदाधिकारीहरु समस्या समाधान गर्न भन्दा पनि प्रहरी लगायेर दमन गर्न लागेकोले थप आन्दोलन गर्न बाध्य भएको बताए ।